
विराटनगर । विराटनगरमा आज फूलपती बढाइँ र हर्षोल्लासका साथ फूलपाती भित्र्याइएको छ । नवरात्रको सातौं दिन आज दसैं घरमा हर्षाेल्लासका साथ फूलपाती भित्र्याइयो ।

मोरङ जिल्ला अदालत र मालपोत कार्यालको आँगनमा रहेकोे निशान भगवती मन्दिरमा फूलपाती भित्र्याउने र बढाइँ गर्ने चलन रहिआएको छ । बजारको काली मन्दिरबाट डोलीमा फूलपातीसहित निशान भगवती मन्दिरमा आउने चलन रहेकाे छ ।

त्यसपछि काली मन्दिरको डोलीसहित आएको टोली निशान भगवती मन्दिरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड बाजासहित बंगलामुखी मन्दिरमा पुग्छ । बंगलामुखी मन्दिरमा पूजाआजाका साथै बन्दुक पड्काएर सालामी दिइन्छ । बंगलामुखीपछि काली मन्दिर हुँदै पुन: निशानी भगवती मन्दिरमा पुगेर त्यहाँ पनि पूजाआजा गर्दै बली चढाउने र बन्दुक पड्काएर सालामी दिइ हर्क बढाइँका साथ फूलपाती भित्र्याइन्छ।

फूलपाती बढाइँमा मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुख, लेखापढी व्यवसायी, कानुन व्यवसायीलगायत सर्वसाधारणकाे सहभागिता थियाे ।

यस्तै, मोरङको रंगेलीमा पनि फूलपाती बढाइँ हुने गरेको छ ।




























