
काठमाडौं – अवरुद्ध बीपी राजमार्ग आज विहानैदेखि सञ्चालनमा आएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव केशव शर्माका अनुसार बिहान १० बजेबाट सञ्चालन गर्ने तयारी भए पनि बिहान ८ बजेदेखि नै सडक खुलेर गाडी चल्न थालेका छन् ।
गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले काठमाडांै उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको बीपी राजमार्ग अवरुद्ध भएको थियो ।
यो राजमार्गको विभिन्न ठाउँमा गरी १२ किलोमिटर भन्दा धेरै भागमा क्षति पुगेको थियो । शर्माका अनुसार आजदेखि कतै एकतर्फी र कतै दुईतर्फी राजमार्ग खुलेको छ । कतै कतै जोखिम कायमै छ । अब सडक खुलेपछि आउजाउ गर्नेलाई केही सहज भएको छ ।























