आपसी सहयोग र सद्भावका साथ विजया दशमी मनाऔं : प्रधानमन्त्री

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २६, शनिबार ०७:१५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाका बिच आपसी सहयोग र सद्भावका साथ विजया दशमी मनाउन अनुरोध गरेका छन् ।

विजया दशमी २०८१ को अवसरमा उनले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहनुभएका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई आह्वान समेत गरे । “जो जहाँ छौ, पीडामा परेकाहरूको पिडा हराउनका लागि सहयोगी हातहरू बढाउन आग्रह गर्छु”, उनले भने ।

प्रधानमन्त्री ओलीले विपद्को घडीमा यसपालिको दसैँ टीका उल्लासपूर्ण हुन नसकेको समेत बताए । “विपद्को घडीमा यतिबेला मेरो मन भारी भइरहेको छ । भारी मनका साथ दसैँको उल्लासमा रमाउनुपर्ने बेला हाम्रो दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्थामा म पनि रमाउन सकिरहेको छैन”, उनले भनेका छन्, “दसैँअघि आएको भीषण बाढी र पहिरोका कारणले निर्दोष बालबालिका र असक्त ज्येष्ठ नागरिकहरूले जीवन गुमाउनुपर्‍यो । कति घाइते हुनुभयो, धेरै जनधनको क्षति भयो ।”

प्रधानमन्त्री ओलीले शुभकामना भिडियो सन्देशमार्फत सरकार प्रकोपपछिको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित रहेको जानकारी दिँदै आश्वस्त रहन आग्रह गरे । “प्रकोपले किसानको अन्नबाली नोक्सान भएको छ, त्यसको मूल्याङ्कन गरेर क्षतिपूर्ति उपलब्ध गराउँछौँ । भत्किएका घरहरू पुनर्निर्माण गरी हस्तान्तरण गर्नेछौ । यसप्रति आश्वस्त रहँदै, सबैलाई दसैँ मनाउन र मिल्नेहरूले टीका लगाउन म आग्रह गर्न चाहन्छु ।”

उनले आफू नेतृत्वको सरकार जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गर्दै प्रकोप प्रभावितलाई धैर्य धारण गर्न आग्रह समेत गरे। “सरकारको नेतृत्व गरिरहेका हुनाले मेरो काँधमा थप जिम्मेवारी छ”, प्रधानमन्त्री ओलीले भनेका छन्, “उहाँहरूको आशु पुछ्ने, उहाँहरूको घाउमा मलहम लगाउने, पीडितलाई राहत दिने, पुनःनिर्माणको काम यथाशीघ्र सम्पन्न गर्ने, चाडपर्वमा आवातजावतलाई सहज र सुगम बनाउने समेत उत्तरदायित्वमा लागिरहेको घडीमा सबैलाई धैर्य धारण गर्न पनि आग्रह गर्दछु ।”

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.