
विराटनगर । विराटनगर महानगरपालिकाभित्रका सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
विराटनगर–१९ बाट रेबिजविरुद्धको खोप लगाउन सुरु गरिएको हो । सडक तथा सामुदायिक कुकुरले मानिसलाई टोकेमा रेबिज रोग नसरोस् भन्ने उद्देश्यले महानगरका सबै वडामा खोप लगाउन सुरु गरिएको भेटनरी शाखाका अधिकृत हिरालाल यादवले जानकारी दिनुभयो ।
आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको उपस्थितिमा पहिलो चरणमा विराटनगर–१९ का मिलन चोक, घिनाघाट, मुसरीटोललगायतका विभिन्न स्थानमा कुकुरलाई नियन्त्रणमा लिएर रेबिजविरुद्धको खोप लगाइएको थियो । वडा नम्बर १९ का अध्यक्षसमेत रहेका घिमिरेले ब्यानर पढेर खोप अभियानको शुभारम्भ गरेका थिए ।
‘डगनेट’मार्फत कुकुरलाई नियन्त्रणमा लिई प्राविधिकहरुले खोप लगाउने गरिएको यादवले बताए । दैनिक ३० देखि ४० वटा सडक तथा सामुदायिक कुकुरलाई खोप लगाउने योजना छ । १५ दिनसम्म सञ्चालन हुने खोप अभियानमा ६ सय कुकुरलाई खोप लगाउने लक्ष्य लिइएको यादवले बताए ।























