
विराटनगर । विराटनगरमा आजदेखि सुरु भएको नरेश श्रेष्ठ मेमोरियल वाई वाई मेन्स यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले विजयी सुरुवात गरेको छ ।
कोशी प्रादेशिक क्रिकेट संघको समन्वयनमा नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको प्रतियोगिताको शनिबार भएको उद्घाटन खेलमा पाहुना टोली मधेसले कोशी प्रदेशलाई २२ रनले हराएको छ । जितसँगै मधेसले २ अंक जोडेको हो ।
टस जितेर पहिलो ब्याटिङ गरेको मधेसले ४६ ओभर २ बलमा सबै विकेट गुमाउँदै १८५ रन बनायो । जसमा मायन यादवले ५२, सकिल पटेलले ४८, अभिषेक तिवारीले २३, निरजकुमार यादवले २१, साहिवान अलीले १७ रन बनाए ।
बलिङमा कोशीका विपिनकुमार महतोले ७ विकेट, प्रेमकुमार कामतले २ र सुजनप्रसाद घिमिरेले १ विकेट लिए ।
१८६ रनको लक्ष्य पाएको कोशीले ४३ ओभरमा सबै विकेट गुमाउँदै १६३ रनमै समेटियो । जसमा सोनु अन्सारीले ३९, आशिष राना मगरले ३१ रन बनाए ।
मधेसका लागि बलिङमा अफ्रुदिन राइन र रन्जित कुमारले ३–३ विकेट तथा राजेश यादव, अभिषेक तिवारी र रोहनकुमार साहले १–१ विकेट लिए ।
प्रतियोगिताको आइतबार विराटनगरस्थित बैजानाथपुरको गिरिजा प्रसाद कोइराला खेल मैदानमा लुम्बिनी प्रदेश र कोशी प्रदेश तथा मेर्लिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा मधेस प्रदेश र गण्डकी प्रदेशीबीच खेल हुनेछ ।



















