यू–१९ राष्ट्रिय क्रिकेटमा गण्डकी र लुम्बिनी विजयी

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ११, आइतबार १९:४३

विराटनगरमा जारी यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी र लुम्बिनी प्रदेश विजयी भएका छन् ।

प्रतियोगिताअन्तर्गत आज मेरिबोलेन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले मधेस प्रदेशलाई ९ विकेटले हरायो ।
टस जितेर ब्याटिङ थालेको मधेसले ३५ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियो ।

मधेसका जितेश मण्डलले ३२ रन, निरजकुमार यादवले १८ र मायन यादवले १३ रनको यागदान गरे । गण्डकीका अपराजित पौडेलले ५ विकेट लिए ।

८३ रनको लक्ष्य पाएको गण्डकीले १८ ओभर २ बल खेल्दै १ विकेटको क्षतिमा लक्ष्य भेटायो । गण्डकीका सोहेल कुँवरले अविजित ३४ र अर्जुन कुमालले २४ रन बनाए । मधेसका जितेन मण्डलले १ विकेट लिए ।

गण्डकीले जितसँगै २ अंक जोडेको छ भने मधेसले २ खेलमा २ अंक जोडेको छ । कोशी २ खेलमा अंकविहीन अवस्थामा रहेको छ ।

त्यस्तै, बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा लुम्बिनीले घरेलु टोली कोशी प्रदेशलाई ७५ रनले पराजित गर्यो ।

टस जितेर ब्याटिङ थालेको लुम्बिनीले ४१ ओभर २ बल खेल्दै सबै विकेटको क्षतिमा १ सय ३५ रन बनायो । लुम्बिनीका सन्तोष यादव र दिलसाद अलीले क्रमशः ३६ र ३२ रन बनाए । कोशीका प्रतिक पोखरेलले ३ विकेट, सौजन घिमिरे, प्रेम कामत र विपिन महतोले समान २ विकेट लिए ।

१ सय ३६ रनको लक्ष्य पछ्याएको कोशी २४ ओभर २ बलमा सबै विकेट गुमाउँदै ६० रनमा सीमित भयो । कोशीका लागि सोनु अन्सारीले १७ र रोशन साहले १३ रन बनाए ।

लुम्बिनीका महेश भार, रमेश कुर्मी र सन्तोष यादवले सामना ३–३ विकेट लिए । लुम्बिनीले २ अंक जोडेको छ ।

कोशीका प्रशिक्षक लाक्पा लामाले बन्द प्रशिक्षणको समय कम भएकाले उनीहरुबीच राम्रोसँग तालमेल नहुँदा यस्तो भएको हो । बलिङ पक्ष सुधारिए खेले पनि ब्याट्सम्यानले भने सोचे अनुसार चल्न नसकेको लामाले बताए ।

उनले भने, ‘आजको खेलमा लुम्बिनीलाई पछ्याउन सक्ने योगफलमा रोकेको हौं । बलरले राम्रो खेले । तर ब्याटिङ पक्ष फितलो भयो । लगातार २ म्याचको तालिकाले खेलाडी थाकेको देखियो ।’

प्रतियोगिताअन्तर्गत सोमबार बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला खेल मैदानमा बागमती र गण्डकी प्रदेश तथा मेरिबोलेन ज्वाला क्रिकेट मैदानमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.