
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १० ले पुराना कर्मचारीलाई सम्मानसहित नवनिर्मित भवनको उद्घाटन गरेको छ ।
वडा कार्यालयले लामो समयदेखि कार्यरत कर्मचारी सुनिलकुमार कामतलाई सम्मान गरेको छ । कामतलाई महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडाध्यक्ष अर्जुन गिरीले सम्मानपत्र प्रदान गरे ।
विगत २८ वर्षदेखि सोही वडामा कार्यरत कामतलाई सम्मान गरिएको वडाध्यक्ष गिरीले बताए । त्यस्तै, सोही अवसरमा मेयर कोइरालाले ३० लाख रुपैयाँको लागतमा निर्मित वडा कार्यालय भवनको दोस्रो तला उद्घाटन गरे ।
वडा कार्यालयले चियापानसहित तिहार, छठ र नेपाल सम्वत्का अवसरमा शुभकामना आदानप्रदानसमेत राखेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगरको समग्र विकासमा महानगरपालिका लागि परेको बताए ।
उनले भौतिक विकाससँगै मानवीय विकासमा पनि महानगरले योजनावद्ध रुपमा कार्य गरिरहेको जानकारी दिए । हालै मात्रै वडा नम्बर १९ स्थित बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर, विराटनगर–४ दूधफारम दक्षिण अटिज्म सेवा केन्द्र स्थापना, ट्राफिक लाइटको जडान, रानी अस्पतालमा फिजियोथेरापी, भिडियो एक्स–रेलगायतका सुविधा सञ्चालनमा ल्याइएको बताए ।
उनले बरगाछी–रानी सौन्दर्यकरण जारी रहेको बताउँदै मेयर कोइरालाले विराटनगरलाई सफा, सुन्दर, हराभरा, व्यवस्थित र विकसित विराटनगर बनाउने अभियानमा साथ दिन महानगरवासीलाई आग्रह गरे ।
त्यस्तै, उपमेयर कार्कीले महानगरमा सबैभन्दा कम गुनासो वडा नम्बर १० बाट आउने गरेको बताइन् । उनले तुलानात्मक रुपमा विराटनगरको वडा नम्बर १० विकसित, सफा र व्यवस्थित रहेको उल्लेख गरिन् ।























