नेपाल र बंगलादेश भिड्दै : फाइनलको अनलाइन टिकट बिक्री बन्द

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १३, मंगलबार १६:१५

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल बुधबार हुँदै छ । उपाधिका लागि यी दुई देश भिड्दै छन् ।

फाइनल खेलका लागि अनलाइन टिकटको बिक्री बन्द गरिएको छ । अनलाइन टिकटको बिक्री बन्द गरेर जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रुपमा नै टिकट बिक्री गरिने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

११ हजार टिकट बिक्री गर्ने एन्फाको तयारी छ । साधारणतर्फ १० हजार र भीआईपीमा १ हजार टिकट बेच्ने एन्फाको योजना छ । प्रतियोगिता हुने दशरथ रंगशालाको प्यारापिट १५ हजार क्षमताको छ । यसअघि अनलाइन टिकट खरिद गरेकाहरुको रकम फिर्ता गरिने एन्फाले जनाएको छ ।

एन्फाले एन्फा कम्प्लेक्स, भद्रकाली आर्मी गेट र जावलाखेल मैदानबाट टिकट बिक्री गरिनेसमेत जानकारी दिएको छ । टिकटको मूल्य ५ सय र एक हजार रुपैयाँ तोकिएको छ । एन्फाले टिकटमा पनि सीमितता तोकेको छ । जसअनुसार एकजना दर्शकले साधारण प्यारपिटतर्फ बढीमा ५ वटा र भीआईपीतर्फ २ वटामात्रै किन्न पाउने छन् । टिकट खरिद गर्नेले साँझ ५ बजेभित्र रंगशाला प्रवेश गरिसक्नुपर्छ ।

आइतबार भएको नेपाल र भारतबीच भएको सेमिफाइनल खेलमा क्षमताभन्दा बढी टिकट बेचेको भन्दै एन्फाले टिकट बिक्रीमा रोक लगाएर टिकट बिक्रीको जिम्मा आफैं लिएको हो । यसअघि खेलको टिकट बिक्री गर्ने जिम्मा माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट प्रालिले लिएको थियो । फिफा नियमअनुसार रंगशालाको कुल क्षमताको २० प्रतिशत कममात्रै टिकट बिक्री गर्नुपर्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.