
विराटनगर । विश्वकप लिग–२ शृङ्खलाका लागि अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले स्कटल्याण्डलाई पराजित गरेको छ ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको हो ।
मङ्गलबार राति टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटिएको थियो ।
स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले ३ विकेट लिए । करन केसी, सोमपाल कामी, गुल्सन झाले २–२ विकेट लिए । स्कटल्याण्डका लगि मार्क वाटले ३४ रन बनाए,अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् ।
स्कटल्याण्डले दिएको लक्ष्य नेपालले २९.५ ओभरमा पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ५१ रन जोडे । साथै कुशल भुर्तेल र गुल्शन झाले २५–२५ रन बनाए भने आसिफ शेखले २१ रन बनाए ।
स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलमले २ विकेट लिए । साथै ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान १–१ विकेट लिए । नेपाल पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियाे । स्कटल्याण्डले पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।



















