सर्लाही । स्यालको आक्रमणबाट सर्लाहीको ३ वटा पालिकाका १३ जना घाइते भएका छन् । स्यालको आक्रमणबाट ४ जना बालबालिकासहित १३ जना घाइते भएको सर्लाही प्रहरीले जनाएको छ ।
बसबरिया गाउँपालिका–१ का १० वर्षीय रोशन मुखिया, ६० वर्षीय विजय पण्डित, ५५ वर्षीया सिवादेवी साह, ४० वर्षीय सहिद दर्जी, ४० वर्षीय मदैनिया दर्जी र ६ वर्षीय राजु मुखिया, बसबरिया–३ का १५ वर्षीय दीपेन्द्र माझी, बसबरिया–४ का १५ वर्षीया करुणा साह र ६० वर्षीय बद्री मुखिया स्यालको आक्रमणबाट घाइते भएका छन् ।
त्यस्तै, गोडैता नगरपालिका–१० का ४० वर्षीया इन्दुदेवी बैठा, ४० वर्षीया प्रेमादेवी मण्डल, सोही ठाउँका ४१ वर्षीय विपद पासवान तथा बलरा नगरपालिका–४ का ६० वर्षीया सोमरी देवी घाइते भएका सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मंगलबार राति जंगलबाट गाउँ पसेको स्यालको समूहले खेतबाट काम गरेर घर फर्कंदै गरेका तथा घरमै बसिरहेका स्थानीयलाई आक्रमण गरेको हो ।
घाइतेमध्ये इन्दुदेवी र प्रेमादेवीलाई थप उपचाररका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।
अन्य घाइतेको जनकपुरस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको छ भने केही घाइतेहरु स्थानीय स्वास्थ्य संस्थामा उपचार गराएर घर फर्किएको प्रहरीले जनाएको छ ।