
विराटनगर । अपराध अनुसन्धानका लागि कोशी प्रदेशमा प्रहरीसँग १२ वटा कुकुर छन् । अपराधीको खोजी, विष्फोटक पदार्थ, लागूऔषध अनुसन्धान र दैविक प्रकोप उद्दारमा ती कुकुर खटिन्छन् ।
कोशी प्रदेश प्रहरी केनाइन शाखा धरान र विराटनगर विमानस्थलमा प्रहरीले तालिमप्राप्त कुकुर राखेको छ । ती कुकुर अपराध अनुसन्धानका लागि प्रदेशका सबै ठाउँमा पुग्छन् । अनुसन्धानमा अब्बल पनि छन् ।
नेपालमा प्रहरीले कुकुरको प्रयोग गरेर अनुसन्धान सुरु गरेको २०३२ सालदेखि हो । प्रदेशमा अनुसन्धानमा धरानमा २०४७ सालमा केनाइन शाखा स्थापना भएको थियो । विराटनगर विमानस्थलमा २०७० सालमा केनाइन शाखा स्थापना भएको थियो । केनाइनको मुख्य कार्यालय भने महाराजगञ्जमा छ ।
कोशी प्रदेशमा अपराध अनुसन्धानका लागि पिकु, पारु, ज्याक, पिङ्कु, ड्यूक, जिभा, रेन्जर, रक, म्यागी, माया, लियो र सागर नाम गरेका कुकुर छन् ।
सागर, माया र पिङ्कु लागूऔषधको अनुसन्धानमा प्रयोग हुन्छन् । ड्याकु, लियो र पिकुले हत्यालगायतका अपराधमा संलग्न अपराधी पत्ता लगाउन सहयोग गर्छन् । रक र म्यागीले विष्फोटक पदार्थको अनुसन्धान गर्छन् । जिभालाई दैविक प्रकोपको उद्दारमा खटाइन्छ । रेन्जर, पारु र ज्याक बिष्पोटक पदार्थ खोजीमा प्रयोग हुन्छन् ।
कोशी प्रदेश केनाइन शाखा प्रमुख प्रहरी नायव निरीक्षक (सइ ) यमबहादुर श्रेष्ठका अनुसार पिकुले २०८० साउन ३२ गते झापाको मेचिनगर नगरपालिका– ८ का सुन्दर किसानको हत्या अनुसन्धानमा आरोपीको खोजी गरेको थियो ।
प्रहरीसँग रहेको कुकुरलाई अनुसन्धानमा प्रयोगका लागि एक–एक ह्याण्डर खटिएका छन् । ती ह्याण्डरले कुकुरलाई घटनास्थलमा लगेर प्रयोग गर्छन् ।
२०४७ मा स्थापना भएको कुकुर शाखामा प्रहरी नायब निरीक्षकको कमाण्डमा ९ जना प्रहरी कार्यरत छन् । प्रहरीले त्यहाँ राखिएका कुकुरलाई दैनिक तालिम, सरसफाई, खानपान र फिल्डमा लैजाने गर्छन् ।
गम्भीर प्रकृतिको घटनाहरुमा अपराधी पहिचान गर्न ‘ट्र्याकिङ डग’ लिएर ह्ययाण्डर प्रहरी पुग्छन् । मानिसभन्दा ५ गुना बढी सुध्ने शक्ति भएका तालिमप्राप्त कुकुरले घटना भएको २४ घण्टाभित्रै अनुसन्धानमा खटाउँदा कम्तीमा ८६ प्रतिशतसम्म सफलता प्राप्त गर्न सक्छन् ।
कुकुरलाई ‘डग ह्यान्डलर’ कुकुर हेर्ने प्रहरीले बिहान आधा घण्टा पिटी खेलाउँछन् । खाजापछि विषयगत तालिम दिइन्छ । १० बजे खाना दिइन्छ । कुकुरलाई दैनिक तालिम दिइन्छ । कुकुरलाई जसले तालिम दियो, उसैले मात्र प्रयोग गर्न सक्छ ।
दैनिक तालिमका क्रममा कुकुरहरुलाई लागुऔषध र विस्फोटक पदार्थजस्ता कुरा लुकाइन्छ र खोज्न लगाइन्छ । ह्यान्डलरले तालिम गराउँदा सांकेतिक भाषा, कोड, डिकोड कुकुरलाई बुझाइन्छ । ट्रयाकिङ विधामा कुकुरलाई दक्ष हुन १ वर्ष लाग्छ । अन्य विधामा भने ६ महिनामा तयार हुन्छन् ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङ अपराध अनुसन्धानमा कुकुरको प्रयोग प्रभावकारी हुने बताउँछन् । ‘जटिल प्रकृतिका अनुसन्धानमा कुकुरको प्रयोग हुन्छ । कुकुर फरक प्रकारका हुन्छन्,’ उनले भने, ‘समग्रमा ‘ट्रयाकिङ’ डगले हत्याका अभियुक्त पत्ता लगाउँछ । लागुऔषध पत्ता लगाउन पनि कुकुरको प्रयोग हुन्छ ।’
कुकुरले अपराधी पत्ता लगाउने भएकाले मान्छेलाई मनोवैज्ञानिक हिसाबले पनि असर गर्ने डीआईजी खापुङ बताउँछन् । अनुसन्धानमा कुकुरको प्रयोग उपयोगी हुने उनको भनाइ छ ।























