लगाइयो साइतको भाइटीका

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १८, आइतबार १२:४५

विराटनगर । यसवर्षको साइतको भाइटीका सम्पन्न भएको छ । हिन्दु धर्मावलम्बीहरुको महान पर्व तिहार भाइटीका लगाएसँगै सकिन्छ ।

यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे थियो । तर, दिनभर टीका लगाउन कुनै बाधा पर्ने छैन ।अहिले पनि टीका लगाउने क्रम भने जारी छ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार साइतको टीका लगाइदिएका छन् ।

पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर लगाइदिने चलन छ । तिहारको पाँचौं दिन आज भाइटीका परेको थियो । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिन्छन् । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि उत्तम साइत चै ११ः३७ बजे जुरेको अध्यक्ष प्रा‍. श्रीकृष्ण अधिकारीले बताए । उनका अनुसार साइतको टीका भने सकिएको छ ।

आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं समितिका अध्यक्ष अधिकारीले बताए ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.