
उदयपुर । उदयपुरको कटारी नगरपालिका–९ स्थित एउटा घरमा आगलागी भएको छ ।
खम्बसिंह थापामगरको घरमा मंगलबार साँझ आगलागी भएको हो । ढुंगा माटोको गाह्रो र खरको छानो भएको २ तले घरमा साँझ ५ः३० बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगोले घर पूर्णरूपमा जलेर ध्वस्त भएको छ । घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडावर्तन, काठपात र नगद ९५ हजार रूपैयाँ जलेको प्रहरीको भनाइ छ ।
आगलागीमा ६ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । स्थानीयले आगो करिब आधा घण्टापछि नियन्त्रणमा लिएका थिए ।
घटनामा मानवीय र चौपाया क्षति भने भएन । आगलागीको कारण खुल्न बाँकी छ । यद्यपि, विद्युत सर्ट भएर घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।























