अमेरिकाले अभूतपूर्व र शक्तिशाली जनादेश दिएको छ : डोनाल्ड ट्रम्प

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक २१, बुधबार १४:१५

एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीबाट उम्मेदवार रहेका डोनाल्ड ट्रम्पले फ्लोरिडास्थित आफ्नो चुनावी अभियानको मुख्यालयमा उपस्थित रहेकालाई सम्बोधन गरेका छन् ।

चुनावी नतिजा ट्रम्पको पक्षमा जाने निश्चित भइसकेको छ । नतिजाबाट निक्कै उत्साहित बनेका उनले आफ्ना समर्थकलाई सम्बोधन गरेका हुन् । सम्बोधन गर्दै ट्रम्पले आजको दिनलाई आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण दिनको रूपमा सम्झने विश्वास व्यक्त गरेको बीबीसीले जनाएको छ ।

ट्रम्पले आफ्नो चार बर्से कार्यकाल अमेरिकाका लागि स्वर्ण युग (गोल्डेन एज) हुने दाबी मात्रै गरेनन्, अमेरिकी जनताको लागि ठूलो विजय भएको प्रतिक्रिया दिए । सम्बोधन गर्दै उनले आफूलाई अमेरिकाले अभूतपूर्व र शक्तिशाली जनादेश दिएको बताए ।

श्रीमती मेलानियाका साथै परिवारका सदस्यहरुलाई धन्यवाद दिएका उनले जेडी भान्सलाई उपराष्ट्रपतिका रुपमा प्रस्तुत गरे । भान्सले पनि सम्बोधन गर्दै यो जित ठूलो राजनीतिक पुनरागमन भएको बताए ।

ट्रम्पले एलन मस्कको पनि निकै तारिफ गरे । उनी रिपब्लिकन पार्टीको ‘न्यू स्टार’ भएको बताउँदै ट्रम्पले भने, ‘मस्क वास्तवमै गज्जबका मान्छे हुन् ।’ सम्बोधनको क्रममा ट्रम्पले आफ्नो जित घोषणा गरेका छन् । यद्यपि, राष्ट्रपति चुनावमा जितको औपचारिक घोषणा भने भइसकेको छैन ।

ट्रम्पकै जित पक्का

अमेरिकाको राष्ट्रपतिमा ट्रम्पकै जित पक्का भएको छ । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति बन्ने छन् । ट्रम्प जितनजिक पुगेसँगै ह्यारिस पहिलो महिला राष्ट्रपति बन्न नसक्ने निश्चित भइसकेको छ ।

सात स्वीङ स्टेटमध्ये फ्लोरिडा, नर्थ क्यारोलिना र पेन्सलभेनियामा जितेका ट्रम्प अन्य राज्यको मतगणनामा पनि ठूलो अन्तरले अगाडि छन् । ट्रम्प सन् २०१६ मा पहिलोपटक राष्ट्रपति चुनिएका थिए । सन् २०२० को निर्वाचनमा पनि उनले प्रतिस्पर्धा गरेका थिए । तर, उनी डेमोक्रेटिक उम्मेदवार जो बाइडेनसँग पराजित भए ।

पराजित भएपछि संसद भवनमा ट्रम्प समर्थकले आक्रमण गरेका थिए । यसपटक रिपब्लिकन पार्टीले राष्ट्रपति निर्वाचन मात्र होइन तल्लो र माथिल्लो दुवै सदनमा बहुमत प्राप्त गर्ने देखिएको छ ।

 

clockप्रकाशित मिति:  २०८१ कार्तिक २१, बुधबार १४:१५
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.