मलद्वारमा लुकाएर ब्राउन सुगर ओसार्ने युवक पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १९, शनिबार ०८:२०

विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–१ बस्ने ३८ वर्षीय हरिप्रसाद ढकाल छन् ।

इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति बुधबारे बजारबाट उनलाई नियन्त्रणमा लिएको हो । मे २ प २८३६ नम्बरको होण्डा साइन मोटरसाइकलमा सवार ढकाललाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट लागुऔषध बरामद भएको थियो ।

प्रहरीका अनुसार ढकालले प्लास्टिकमा पोको पारेर आफ्नै मलद्वारमा लुकाई-छिपाई राखेको अवस्थामा ब्राउन सुगर फेला परेको हाे । बरामद गरिएको ब्राउन सुगर प्लास्टिकसहित ३ ग्राम २२० मिलिग्राम र प्लास्टिक बाहेक २ ग्राम ७२० मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।

लागुऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका ढकाललाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ। उनीमाथि लागु औषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.