
धरान । सुनसरीको धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भ्रष्टाचारमुक्त बनाउन माग गर्दै सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गराइएको छ ।
प्रतिष्ठानलाई भ्रष्टाचारमुक्त गरेर सुधार गर्नुपर्ने मागसहित क्रियाशील राजनैतिक दलहरूले पौडेलको ध्यानाकर्षण गराएका हुन् । पौडेल प्रतिष्ठानको १३ औं दीक्षान्त समारोहमा भाग धरान आएका छन् ।
आफ्ना व्यक्तिलाई पदाधिकारी नियुक्त गर्ने गरिएका कारण बीपीमा भ्रष्टाचार बढेको र सेवा प्रवाह कमजोर बनेको निष्कर्ष दलहरुले निकालेका छन् । दलहरुले बीपीमा एमबीबीएस र बीएसी नर्सिङ अध्ययन गर्दा धरानबासीलाई कोटा छुट्याउन माग गरेका छन् ।
एमाले, कांग्रेस, माओवादी केन्द्र, जसपालगायतका दलहरूले मन्त्री पौडेलसमक्ष बीपी प्रतिष्ठान कोशी प्रदेशको मात्र नभएर देशकै अग्रणी टिचिङ अस्पताल भएका कारण यसको सुधारमा ध्यान दिन आग्रह गरेका छन् । उनीहरुले बीपी प्रतिष्ठान सुधार गर्न ११ बुँदे ज्ञापनपत्र पौडेललाई बुझाएका छन् ।
पौडेलले बीपी प्रतिष्ठानलाई सुधार गरेर स्वास्थ्य र शिक्षा गुणस्तरीय बनाउँदै सुविधा प्रदान गर्ने प्रतिबद्धता जनाए । उनले प्रतिष्ठानमा भएको भ्रष्टाचारको छनबिन गरेर त्यसमा संलग्नमाथि कारबाही गरिने बताएका छन् ।

























