
काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका–७ लगायतका केही गाउँमा अज्ञात रोगका कारण पशु चौपाया मर्न थालेका छन् ।
डाँडाफयाँ, थाया, जबुका गाउँलगायत केही गाउँका चौपायमा संक्रमण देखिन थालेको हो । यी गाउँमा अज्ञात रोगले पशुवस्तुहरु मर्न थालेको स्थानीयहरुले बताएका छन् ।
गाई, गोरु, जुमा, झोपा, खसीलगायतका पशु चौपायामा यो रोगको संक्रमण देखिएको स्थानीयहरुले बताएका हुन् । पशु चौपायाले घाँस खान छोड्ने, मुखबाट र्याल निकाल्ने, हिँड्न नसक्ने र पिसाबबाट रगत बग्ने गरेको लक्षण देखिएको छ ।
यो संक्रमण भएका पशु चौपायाको पिसाबाट रगत बग्न थालेपछि मर्ने गरेको स्थानीयको भनाइ छ । हालसम्म २ वटा झोपा अज्ञात रोगले मरेका छन् । झोपाको मूल्य पछिल्लो समय ८० हजारसम्म पर्ने गरेको बताइएको छ । खेत जोत्नका लागि झोपा पाल्ने गरिन्छ ।
डाँडाफयाँमा फैलिएको अज्ञात रोगका विषयमा पशु अस्पताल तथा पशु सेवा कार्यालयले पशुवस्तुमा लागेको रोग प्रष्ट पहिचान हुन नसकेको जनाएको छ । तिहार बिदामा पनि कार्यालयमा औषधि माग्न आएका किसानले भनेका आधारमा औषधि पठाएको पशु अस्पतालका निमित्त प्रमुख कृष्ण रोकायाले जानकारी दिए ।
उनले बिदाको समय भए पनि किसान औषधि माग्न आएकाले औषधि दिएर पठाएको बताए । गाउँमा रोग फैलिए पनि बिदाको समय भएकाले कुन रोग देखिएको हो प्रष्ट हुन नसकेको बताइएको छ ।























