कोशीका निवर्तमान मन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २७, मंगलबार १८:०६

काठमाडौं । मानव बेचबिखनसमेतको मुद्दामा अनुसन्धान जारी रहेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीले ७ दिनको म्याद पाएको हो । जिल्ला अदालत काठमाडौंले मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

अधिकारी आइतबार विराटनगरबाट पक्राउ परेका थिए । पक्राउ परेकै दिन उनलाई हिरासतमा राख्न अदालतले २ दिनको म्याद दिएको थियो । यो घटनामा थप दुई जना पक्राउ परेका छन् । ओखलढुंगाका गुढी राई र नविन राई पक्राउ परेका हुन् । उनीहरुले जापान जानलाई तीन युवाका लागि नक्कली सरकारी कागजात बनाइदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुनका लागि कात्तिक ११ गते जापान गएका थिए । उनी आवश्यक कानुनी प्रक्रिया पूरा नगरिकन जापान प्रस्थान गरे ।

अधिकारी र जापान गएका अरु खोटाङको केपीलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा नारिता विमानस्थलको अध्यागमनमा केरकारमा परेका थिए । नेपाल फर्किएलगत्तै उनीहरु(अधिकारीबाहेक)लाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

उनीहरुको बयानका आधारमा यो प्रकरणमा संलग्नता देखिएपछि नुवाकोटका २२ वर्षीय जुगल रिजाल, दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाका ३४ वर्षीय महेश पाण्डेसमेतलाई प्रहरीले पक्राउ गरेको थियो । पूर्वमन्त्री अधिकारीसहित पक्राउ पर्नेको संख्या हालसम्म ९ पुगेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.