सहयोगापेक्षी सडकआश्रितको उद्धार गर्दै मानव सेवा आश्रम

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ३०, शुक्रबार १८:५४

विराटनगर । मानव सेवा आश्रमले सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार गर्दै आएको छ ।

हाम्रो चाहना ‘सबैका लागि खाना नाना, छाना, स्वास्थ्य र शिक्षा’ भनेर सुरु गरे पनि आश्रमले यस पटकको पर्व विशेषमा ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडक पेटीमा’ भन्ने मूल नाराका साथ तेस्रो ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।

मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा ३३ दिने उद्धार यात्रा ७ वटै प्रदेशका ४४ जिल्लामा गरिएको थियो । सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीलगायत ४७ जनाको टोली रहेको थियो ।

३३ दिनका अवधिमा २ सय ३६ जना सहयोगापेक्षी मानवहरुको उद्धार गरिएको छ । १ सय ७९ जना पुरुष र ५७ महिलामध्ये ५ जना बालिका र ४ जना बालकको उद्धार गरेको आश्रमका प्रवक्ता सुमन बर्तौलाले जानकारी दिए ।

उनका अनुसार उद्धार यात्राको सम्पूर्ण खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले गरेको थियो । आश्रमले स्वयम् आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर र अनाथ मानवहरु)हालसम्म १० हजार ७ सय ६४ जनाको उद्धार गरिसकेको जनाएको छ । तीमध्ये ४ हजार २ सय १६ जनाको परिवारसँग पुनर्मिलन गराई घरमै पुनस्र्थापना भएका छन् ।

त्यस्तै, ८ सय ७७ जनाको सामुदायिक पुनस्र्थापना गरिएको छ । मानसिक असन्तुलनको अस्वस्थताका कारण पारिवारिक पुनर्मिलन हुन नसक्ने अवस्थामा रहेका १ हजार ९ सय ६ जना संस्थाको २५ वटा सेवा केन्द्रहरुमा आश्रित गराई स्वास्थ्य सेवा दिलाइरहेको छन् ।
हालै उद्धार गरिएका २ सय ३६ जनालाई आश्रमका १५ वटा सेवा केन्द्रमा राखिएको छ ।

मानवसेवाले आश्रम ७ वटै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.