
विराटनगर । विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा कार्य समिति (योग तथा ध्यान केन्द्र)ले समाजसेवी र ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
समितिको चौथो वार्षिक साधारणसभाको अवसर पारेर एक कार्यक्रमकाबीच समाजसेवी र ज्येष्ठ नागरिकलाई सम्मानलाई गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि विराटनगरका मेयर नागेश कोइरालाले समाजसेवी र ज्येष्ठ नागरिकलाई सम्मान गरे । अमेरिकामा बसेर पनि संस्थालाई सहयोग गर्ने समाजसेवी हेमराज राई र ज्येष्ठ नागरिक वडा कार्य समिति अर्थात योग तथा ध्यान केन्द्रमा नियमित आउनु हुने ९० वर्षीया नेत्रकुमारी पौडेल खत्रीलाई सम्मान गरिएको थियो ।
उनीहरुलाई मेयर कोइराला, वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, आयोजक संस्थाका अध्यक्ष अर्जुन भट्टराई, समाजसेवी चिरञ्जीवी दाहाललगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।

समाजसेवी राईले संस्थालाई ५१ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरे । उनले यसअघि पनि संस्थालाई सहयोग गर्दै आएका छन् ।
त्यस्तै, सोही अवसरमा संस्थाका गतिविधि समेटेर तयार पारिएको स्मारिकासमेत विमोचन गरिएको थियो ।
संस्थाका कोषाध्यक्ष भरत कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले ज्येष्ठ नागरिकको ज्ञान र सीपलाई समाजले ग्रहण गर्नुपर्नेमा जोड दिए । उनले ज्येष्ठ नागरिकको हक अधिकारका लागि तीनै तहको सरकार लाग्नु आवश्यक रहेको औंल्याए ।
मेयर कोइरालाले ८० वर्ष उमेर पार गरेको ज्येष्ठ नागरिकको घरमै पुगेर महानगरले निःशुल्क स्वास्थ्य चेकजाच गरी औषधिसमेत वितरण गर्दै आएको सुनाए । वैदेशिक रोजगारीलगायतका कारणले ज्येष्ठ नागरिकहरुमा एक्लोपन बढ्दै गएको भन्दै उनले चिन्तासमेत व्यक्त गरे ।
भवनको ज्येष्ठ नागरिक सामुदायिक भवन रहेकामा साधारणसभाले ज्येष्ठ नागरिक वडा कार्यसमिति (योग तथा ध्यान केन्द्र) नाम राख्ने प्रस्तावसमेत पारित गरेको सचिव इन्द्र खतिवडाले जानकारी दिए ।
समाजसेवी चिरञ्जीवि दाहालले निःशुल्क दान दिएको ८ घुर जग्गासहित २८ धुरमा निर्माण भएको भवनमा ज्येष्ठ नागरिकका लागि भजनकीर्तन, योग तथा ध्यानलगायतका विभिन्न गतिविधि हुँदै आएको छ ।























