
विराटनगर । धनकुटा र भोजपुरका विभिन्न स्थानमा खेती गरिएका लागुऔषध गाँजा प्रहरीले नष्ट गरेको छ ।
खेती गरिएको गाँजा र प्राकृतिक रुपमा आफै उम्रेका गाँजाका बोट फडानी गरी नष्ट गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
अवैध रुपमा गरिएको गाँजा खेती नष्ट गर्ने अभियानअन्तर्गत धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार, प्रहरी चौकी त्रिवेणिर आँखीसल्लाको प्रहरी टोलीले सहिदभूमि र साँगुरीगढी गाउँपालिकाको करिब साढे ३८ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका ३० हजार १ सय गाँजाका बोटहरु फडानी गरी जलाई नष्ट गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटारको प्रहरी टोलीले हतुवागढी गाउँपालिका विभिन्न स्थानको करिब २२ रोपनी पाखा बारीमा लगाएको १६ हजार ५ सय गाँजाको बोट फडानी गरी जलाई नष्ट गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।























