
काठमाडौं । पूर्वसभामुख एवं वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाको आइतबार दिउँसो निधन भएको छ ।
उपचारका क्रममा काठमाडौंको फ्रन्टलाइन अस्पतालमा दिउँसो २ बजेतिर उनको निधन भएको हो । ८३ वर्षीय ढुंगाना लामो समयदेखि कलेजो सम्बन्धी समस्याबाट पीडित थिए ।
२०४८ सालदेखि २०५१ सम्म सभामुख भएका उनी वरिष्ठ अधिवक्ता (कानुन व्यवसायी)समेत हुन् । तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन उनको महत्वपूर्ण भूमिका छ । ढुंगाना सरकार–माओवादी शान्ति वार्ताका सहजकर्ता थिए ।
पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक यात्रा सुरु गरेका उनी राजनीतिकर्मीसँगै वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक अगुवा भनेर चिनिन्थे । ढुंगाना २०२८ सालमा नेपाल बार एसोसियसनको महासचिवसमेत भएका थिए । पत्रकारिता र शिक्षण पेसामा पनि लगेका थिए ।
नेपाली कांग्रेसका उनी पहिलोपटक २०४८ सालमा काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । ढुंगाना २०४८ असार ९ देखि २०५१ असोज १५ गतेसम्म सभामुखको जिम्मेवारीमा थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा भने नेकपा (एमाले)की विद्यादेवी भण्डारीसँग पराजित भएका थिए ।

























