
सिन्धुली । बिपी राजमार्गअन्तर्गत धुलिखेलदेखि सिन्धुलीको बर्खे खोलासम्मको सडक खण्ड दैनिक ७ घण्टा बन्द हुने भएको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरले सूचना जारी गर्दै धुलिखेलदेखि सिन्धुलीको बर्खे खोलासम्मको सडक खण्ड प्रत्येक दिन राति ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुन थालेको जनाएको छ ।
राजमार्गअन्तर्गत धुलिखेलदेखि बर्खे खोलासम्मको सडक खण्डमा चौकी डाँडा, नार्के बजार र कालढुंगा (भ्याकुरे खोला)देखि माम्ती खोलासम्म डाइभर्सन मर्मत भइरहेको हुँदा अर्को सूचना जारी नभएसम्मका लागि रातको समय सवारी नचलाउन आग्रह गरिएको हो ।
असोज दोस्रो साता आएको बाढीपहिरोका कारण क्षतिग्रस्त भई अस्थायी रुपमा एकतर्फी सञ्चालनमा ल्याइएको सडकअन्तर्गत काभ्रेपलाञ्चोकको चौकी डाँडादेखि सिन्धुलीको बर्खे खोलासम्मको सडकखण्डमा लगाइएको रोकसमेत कायमै छ ।
सुक्खा पहिरो जानसक्ने भएकाले रातिको समयमा यातायात सञ्चालनमा कार्यालय द्वारा रोक लगाइँदै आइएको हो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको यो राजमार्ग रहेको छ ।
























