महानगरले पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण गर्दै

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ६, बिहीबार १७:४५

विराटनगर । विराटनगर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई पाठेघरको मुखको क्यान्सरसम्बन्धी एक दिने अभिमुखीकरण दिइएको छ ।

करुणा फाउण्डेसनसँगको सहकार्यमा महानगरले जनप्रतिनिधि र कर्मचारीका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करुणा फाउण्डेसनसँगको सहकार्यमा महानगरले १९ वटै वडामा परीक्षण अभियान सञ्चालन गर्दैछ ।

करुणा फाउण्डेसनले सम्बन्धित पालिकाहरुको नेतृत्वमा चालु आर्थिक वर्ष २०८१ / ८२ का लागि कोशी प्रदेशका ४ वटा पालिकामा पाठेघरको मुखको क्यान्सरको पहिचान तथा रोकथाम परियोजना सञ्चालन गर्दैछ ।

सोही परियोजनाअन्तर्गत बिहीबार महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडाध्यक्षहरु काजीबहादुर बस्नेत, कुमार पोखरेल, वासुबहादुर बस्नेत, मधुबाबु तिवारी, तीर्थेन्द्र नेउपाने, उद्धव भुजेल, श्याम घिमिरेलगायतको उपस्थितिमा जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

परियोजनाअन्तर्गत विराटनगर महानगरपालिकाका करिब ४७ हजार महिलाहरुको पाठेघरको परीक्षण गरिने फाउण्डेशनकी कार्यक्रम अधिकृत रविना खड्काले जानकारी दिइन् ।

परीक्षणपश्चात पाठेघरमा समस्या देखिएका महिलाहरुको महानगरअन्तर्गतका बैजनाथपुर र रानी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादवले जानकारी दिए ।

परियोजना सफल बनाउन १९ वटै वडामा १ सय ३९ जना महिला स्वयंसेविकाहरु परिचालन गरिनेछ । हरेक स्वयंसेविकाले करिब २ सय जना महिलालाई स्वास्थ्य केन्द्रमा परीक्षण गर्न ल्याउने छन् ।

स्वयंसेविकाहरुले घरघरमा पुगेर जनचेतना फैलाउनुका साथै महिलाहरुलाई परीक्षण गर्नका लागि प्रोत्साहन गरेर स्वास्थ्य संस्थामा जान आग्रह गर्नेछन् ।

महानगरका १९ वटै वडामा सञ्चालित स्वास्थ्य केन्द्रमा पाठेघरको मुखको परीक्षण गरिनेछ । विराटनगर महानगरसहित कोशी प्रदेशका दुहबी, इनरुवा र धरानमा यो परियोजना सञ्चालन हुनेछ ।

४ वटै पालिकाको नेतृत्वमा करिब १ लाख ७ हजार ५ सय महिलाको परीक्षण गर्ने लक्ष्य लिएको छ ।

लक्ष्यको कम्तीमा ८० प्रतिशतले परीक्षण गर्ने अपेक्षा राखिएको फाउण्डेसनकी कार्यक्रम अधिकृत खड्काले बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×