विवाह पञ्चमीको वैवाहिक कार्यक्रम सार्वजनिक

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १०, सोमबार १९:०५

जनकपुर । जनकपुरमा विवाह पञ्चमीका अवसरमा हुने राम जानकी विवाह महोत्सवको कार्यक्रम तालिका सार्वजनिक गरिएको छ ।

मंसिर २१ गते शुक्रबार विवाह पञ्चमी अर्थात् राम जानकी विवाह महोत्सवको वैवाहिक कार्यक्रम जानकी मन्दिर प्रशासनले आज सार्वजनिक गरेको हो ।

सोमबार सार्वजनिक गरिएको वैवाहिक कार्यक्रम अनुसार मंसिर १६ गते नगर दर्शन गराइने छ भने १७ गते फूलबारी लीला हुनेछ ।

त्यस्तै, मंसिर १८ गते धनुष यज्ञ हुनेछ । भारतको अयोध्याबाट आएको जन्तीको रंगभूमि मैदानमा भव्य स्वागतपछि धनुष यज्ञको आयोजना गरिने बताइएको छ ।

मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासका अनुसार १९ गते राम मन्दिरमा तिलकोत्सवको आयोजना गरिनेछ भने २० गते मटकोरको आयोजना हुनेछ ।

उनले २१ गते स्वयंवर तथा शुभ विवाह कार्यक्रम हुने भन्दै २२ गते राम कलेवा अर्थात् जन्तीलाई प्रसाद र कोसेलीसहित बिदाइ गरिने बताइएको छ ।

साथै विवाह पञ्चमीलाई थप व्यवस्थित, प्रभावकारी र आकर्षक बनाउन प्रचारप्रसारका साथै विभिन्न कार्य योजनाबद्ध रुपमा सुरु भइसकेको उनले बताए ।

वैवाहिक कार्यक्रम एवं त्यसअघिका विवाहपूर्वका विधि विधानमा सहभागी हुन लाखौंको संख्यामा जनकपुरधाममा आउने श्रद्धालु भक्तजन र साधुसन्तका लागि बास, शौचालय, खानेपानी, सुरक्षा तथा अन्य सेवा व्यवस्थापनका विषयमा तयारी भइरहेको जानकारी दिइएको छ ।

महोत्सवका लागि सुरक्षा निकायले संयुक्त कार्य योजनाका आधारमा सादा पोसाकसहितका सुरक्षाकर्मी परिचालन हुने छन् ।

वैवाहिक कार्यक्रममा अयोध्याबाट आउने ५ सयभन्दा बढी जन्तीको आवास तथा भोजनका लागि विशेष व्यवस्था मिलाउने तयारी भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.