ग्रामथानमा उपनिर्वाचन : राजनीतिक दलकै कारण सुरक्षा चुनौती !

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १३, बिहीबार २०:३३

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष चयनका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

अध्यक्षमा विभिन्न दलका १५ र स्वतन्त्र १ सहित गरेर १६ जनाको उम्मेदवारी परेको छ । चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दल नै सुरक्षाको प्रमुख चुनौतीका रूपमा देखा परेको सुरक्षा विश्लेषण छ ।

Advertisement

जिल्ला सुरक्षा समिति मोरङले निर्वाचन सुरक्षाका लागि एकीकृत सुरक्षा योजना बनाएर लागू गरिसकेको छ । स्थानीय तह उपनिर्वाचन, २०८१ ग्रामथान गाउँपालिका एकीकृत सुरक्षा योजना बनेको हो । मतदाता, मतदानस्थल, मतपेटिकाको सुरक्षादेखि मतपेटिकाको ढुवानी, मतगणनास्थल र विजय जुलुससम्मलाई लक्षित गरेर रणनीतिक हिसाबले सुरक्षा योजना बनाइएको छ ।

सुरक्षा योजनामै राजनीतिक दलका गतिविधि, विरोध प्रदर्शन आदिले सुरक्षा चुनौती थपिएको उल्लेख छ । निर्वाचन विरोधी गतिविधि नियन्त्रण गर्ने, मतदातादेखि मतदानस्थलमा सुरक्षाको प्रत्याभूति दिलाउने, अनधिकृत प्रवेशमा रोक लगाउनेलगायतका विषय समेटेर सुरक्षा योजना बनाइएको हो ।

निर्वाचन बहिष्कार गर्ने तथा विरोधी समूहका गतिविधिलगायतलाई पनि सुरक्षा चुनौतीका रूपमा लिइएको छ । तर, अहिले निर्वाचन विरोधी समूह निष्कृयजस्तै छ । कुनै समूहको नाममा चुनाव बहिष्कार गर्न आह्वान गरिएको भए पनि खुलेर चुनावको विरोध र सार्वजनिक हिसाबले गतिविधि गर्ने जमात देखा परेको छैन ।

बरु उपनिर्वाचनको प्रचारप्रसारका क्रममा राजनीतिक दलहरुले चैं भड्किलो प्रचारप्रसार गरेका थिए । निर्वाचन आचारसंहिताको उल्लंघन गरेर प्रचारप्रसार गरिए पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेन । उम्मेदवारको फोटोसहितका प्रचार सामग्री जताततै देख्न सकिन्छ । यद्यपि, निर्वाचन आयोगमा आचारसंहिता उल्लंघनको उजुरी परेन ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको उपस्थितिमा बुधबार कांग्रेसले झोराहाटमा चुनावी सभा गर्याे । उक्त सभामा सरकारी गाडीको लर्को लागेको थियो । त्यसलाई रोक्न निर्वाचन आयोगदेखि राज्यका निकायसमेत असफल भए ।

चुनाव प्रचारप्रसारका क्रममा दल र तिनका उम्मेदवारले एकअर्काको खुलेर विरोध गरे । आफ्ना उम्मेदवारलाई राम्रो देखाउने नाममा अर्काे दलका उम्मेदवारको तीव्र आलोचना गर्न दलहरु पछि परेनन् ।

यद्यपि, स्थानीय तहको उपनिर्वाचनका लागि आज (बिहीबार) राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा चुनाव प्रचारप्रसार गर्न पाइँदैन ।

उपचुनावको विषयलाई लिएर ग्रामथानमा अहिलेसम्म कुनै घटना भएको छैन । दलका कार्यकर्ताबीच विवाद र झडपका घटना अहिलेसम्म भएनन् । निर्वाचन सुुरक्षाका दृष्टिकोणले त्यो सुखद् पक्ष हो ।

तर, निर्वाचन सम्पन्न भएर अन्तिम मतपरिणाम नआएसम्म विभिन्न चुनौती कायमै रहने सुरक्षा विश्लेषण छ । सुरक्षा संयन्त्रले दलहरुकै गतिविधिलाई निर्वाचन सुरक्षाको मुख्य चुनौती मानेको छ । सुरक्षा विश्लेषणबाट पनि निर्वाचनमा प्रत्यक्ष सहभागी भएका दलहरु कुन र कस्ता खालका गतिविधि गर्छन् भन्ने प्रष्ट हुन्छ ।

चुनाव प्रचारप्रसारका क्रममा दलहरु एक अर्काप्रति आक्रामक भएकाले झडप र भिडन्त हुनसक्ने आकलन पनि सुरक्षा निकायको छ । यद्यपि, त्यस्ता अप्रिय घटना रोक्न मजवुत हिसाबले सुरक्षा योजना बनाएर लागू गरिएको अधिकारीहरु बताउँछन् ।

एक सुरक्षा अधिकारी भन्छन्, ‘चुनावलाई लिएर दलहरुबीच आरोप–प्रत्यारोप चलिरहेको छ । जित्ने होडबाजीले तिक्ततापूर्ण सम्बन्ध छ । त्यसले कुनै समस्या निम्त्याउँछ कि भनेर चनाखो हुनुपर्ने अवस्था छ । अहिलेसम्म कुनै अप्रिय घटना त भएको छैन । भइहाल्यो भने तत्काल नियन्त्रणमा लिने गरिको तयारी छ ।’

दलहरुको सम्बन्धको सुक्ष्म विश्लेषण गरेर अस्तित्वको लडाइँमा नेता, कार्यकर्ताबीच हुनसक्ने झैझगडालाई निस्तेज पार्न विशेष संयन्त्र परिचालन गरिएको उनले बताए । दलहरुले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष हिसाबले सम्पन्न गर्न सहयोग पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

तर, उनीहरुका अनेक गतिविधि र हर्कतले सुरक्षा निकायमा संशय पैदा गराएको छ । कतै तनावपूर्ण अवस्था पो भइहाल्ने हो कि भन्ने आशंका उब्जाएको ती सुरक्षा अधिकारी बताउँछन् । उनका अनुसार दलका कार्यकर्ता र प्रतिनिधिबीच मतदानस्थलमै झडप हुने अवस्था आउनसक्नेतर्फ पनि सचेत भएर सुरक्षा व्यवस्था मिलाइएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई मतदानका दिन पालिकालाई सुरक्षा घेराभित्र राखिने बताउँछन् । ‘उपनिर्वाचन शान्तिपूर्ण र भयरहित हिसाबले सम्पन्न गर्न सुरक्षा निकाय तयार छ । अनर्गल हर्कतहरु रोक्ने गरिको योजना बनेको छ । कसैले गलत गतिविधि गरेमा तत्काल नियन्त्रणमा लिने रणनीति छ,’ उनी भन्छन्, ‘निर्वाचन विरोधी गतिविधि नियन्त्रण गर्दै सुरक्षाको पूर्ण प्रत्याभूति दिलाइने छ । चुनावका दिन ग्रामथान छिर्ने मुख्य नाका ‘ब्लक’ गरिन्छ । सहायक मार्गमा सुरक्षा निकायको संयुक्त ‘चेक प्वाइन्ट’ हुने छ ।’

मतदानका दिन ग्रामथानमा मानिस र सवारीसाधनको अनधिकृत प्रवेशमा रोक लगाइने भट्टराईले बताए । उनका अनुसार निर्वाचन विरोधी राजनीतिक दल र समूहका गतिविधि, नेता कार्यकर्ताबीचमा विवाद भएर हुनसक्ने सम्भावित झडप, धाक धम्की, मतदानस्थलमा हुनसक्ने अवरोध लगायतलाई सुरक्षा चुनौती मानिएको छ ।

‘त्यत्रो चुनौती त केही पनि छैन । तर, पनि मतदातालाई अनुभूति हुने गरी सुरक्षा व्यवस्था मिलाइने छ,’ प्रजिअ भट्टराई भन्छन् । कसैले कुनै प्रकारको धाक धम्की दिएमा तत्काल सुरक्षा निकायलाई खबर गर्न पनि उनले सबैमा आग्रह गरेका छन् ।

ग्रामथानमा उपनिर्वाचनका लागि १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला सुरक्षा समितिले मतदानस्थलमध्ये ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्यको सूचीमा राखेर वर्गीकरण गरेको छ ।

संवेदनशील र सामान्य भनेर वर्गीकरण गर्दै मतदानस्थलमा त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाउने तयारी गरिएको प्रजिअ भट्टराईले बताए । विगतका निर्वाचनमा भएका झगडा, विवाद र मतदान केन्द्रको संख्यालगायतलाई आधार मानेर मतदानस्थलको वर्गीकरण गरिएको उनको भनाइ छ । उनका अनुसार ग्रामथानमा अति संवेदनशील मतदानस्थल भने छैनन् ।

सुरक्षा संयन्त्रले जुनसुकै चुनौतीलाई पनि सहजै पार लगाउने र मतदाताको सुरक्षाको ग्यारेन्टी गर्ने मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिले बताए । उनका अनुसार आगामी उपनिर्वाचनको सुरक्षाका लागि ग्रामथानमा डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । समग्र निर्वाचन सुरक्षालाई लक्षित गरेर मोरङ प्रहरीका डीएसपी मदन केसीको नेतृत्वमा टोली खटाइएको हो ।

मतदानस्थलमध्ये संवेदनशीलमा इन्स्पेक्टर तथा सामान्यमा वरिष्ठ सइ र सइको नेतृत्वमा प्रहरी परिचालन हुने एसपी चिमरियाको भनाइ छ । उनका अनुसार मतदानका दिन सिनियर प्रहरी अधिकृतको नेतृत्वमा ४ वटा मोबाइल गस्ती परिचालन गरिने छ । त्यसबाहेक रिजर्ब र स्ट्राइकिङ टोली पनि रहने जानकारी एसपी चिमरियाले दिए ।

उनका अनुसार उपनिर्वाचनलाई लक्षित गरेर सूचना संकलन गर्ने तथा त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाउने काम भइरहेको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकाय सक्रिय भएर लागेको उनको भनाइ छ ।

ग्रामथानको अध्यक्षमा नेकपा (एमाले)बाट तुलसीराम विश्वास, नेपाली कांग्रेसबाट बलराम सरदार, नेकपा (माओवादी केन्द्र)बाट नमोनारायण माझी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवीनकुमार विश्वास, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार (दिवेश), अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर र स्वतन्त्र उम्मेदवार नमनारायण चौधरी अध्यक्षको उम्मेदवार छन् ।

२०७९ को निर्वाचनबाट गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । असार ३ गते उनको निधन भयो । रिक्त रहेको अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.