
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–५ स्थितमा प्रहरी चौकी नुमको नवनिर्मित कार्यालय भवनको उद्घाटन भएको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले नवनिर्मित प्रहरी चौकी नुमको भवन उद्घाटन गरेका छन् । भवन उद्घाटनपछि बोल्दै डीआईजी खापुङले सुविधा सम्पन्न भवन प्राप्त भएसँगै प्रहरी कर्मचारीहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताए ।
उनले यो संरचना नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत साझा सम्पत्ति भएको हुँदा यसको उचित संरक्षण, संवद्र्धन र विकासमा सबैको साथ र सहयोगको आवश्यक रहेको बताएका छन् ।
समाजमा अशान्ति र अराजकता फैलाउने आपराधिक समूह, गैरकानुनी र अनैतिक कार्य गर्ने व्यक्ति वा समूहविरूद्ध खरो रूपमा प्रस्तुत भई कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरीलाई डीआईजी खापुङले निर्देशन दिए ।
उनले भवन निर्माण कार्यमा सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मानसमेत गरे । त्यस, अवसरमा कोशी प्रदेश प्रहरी कार्यालयका भौतिक पूर्वाधार शाखाका एसपी आर्किटेक हरि डंगोलले भवन निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गरे ।
त्यस अवसरमा, संखुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का, संखुवासभाका प्रमुख डीएसपी दक्षकुमार बस्नेत, मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी छिरिङ शेर्पालगायतले शुभकामना दिएका थिए ।
नवनिर्मित अढाइ तले भवन नेपाल सरकारको नियमित बजेट १ करोड ४४ लाख ३० हजार ४ सय ३४ रुपैयाँको लागतमा निमाण भएको हो ।























