एनपीएल : चितवनको तेस्रो जित, सुदूरपश्चिमकाे पहिलाे हार

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २३, आइतबार १६:४३

काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा चितवनले सुदूरपश्चिमलाई ३३ रनले हरायो । चार खेलमा चितवनको यो तेस्राे जित हो । सुदूरपश्चिमले चार खेलमा पहिलो हार खेपेको छ ।

जितका लागि एक सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ३१ रन बनाएकाे थियाे ।

सुदूरपश्चिमका लागि ईशान पाण्डेले सर्वाधिक ३५ रन बनाए । यस्तै ओपनर सईफ जैवले १८, स्कट कुग्लेजिनले १६, ब्रान्डन म्याकमुलेनले १३, दिलप्रित बाजवाले १२, विनोद भण्डारी र नरेन साउदले १०/१० रन बनाएका थिए ।

बलिङमा चितवनका कुशल मल्ल, जान निकोल, अमर रौटेला र रिजन ढकालले दुई दुई विकेट लिए । रन्जित कुमार र सोहिल तन्विरले एक एक विकेट झारे ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६४ रन बनाएको थियो । चितवनका लागि ओपनर हसन इसाखिलले ६५ रनको अर्धशतकीय इनिङ्स खेले।

उनले ५२ बलमा ६ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाए । यस्तै रवि बोपराले ३६, विपिन रवालले १७ र कप्तान कुशल मल्लले १३ रन बनाए ।

बलिङमा सुदूरपश्चिमका स्कट कुग्लेजिनले दुई तथा ब्रान्डन म्याकमुलेन, सईफ जैवले र कप्तान दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

चार खेलमा पहिलो हार खेपेको सुदूरपश्चिमको ६ अंक छ । समान खेलमा तेस्रो जित निकालेको चितवनले पनि ६ अंक बनाएको छ ।

हारे पनि सुदूरपश्चिम दोस्रो स्थानमा यथावत् छ । चितवन तेस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको अपराजित जनकपुरको ८ अंक छ ।

clockप्रकाशित मिति:  २०८१ मंसिर २३, आइतबार १६:४३
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.