
विराटनगर । विराटनगरस्थित आदर्श माविले महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ ।
विराटनगर महानगरपालिकाले सहिद रंगशालामा आयोजना गरेको प्रतियोगितामा १५ स्वर्ण, १२ कांस्य र १२ रजत पदक प्राप्त गर्दै आदर्शले उपाधि जितेको हो ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा एभरेष्ट स्कुलले ७ स्वर्ण, ७ कांस्य र १४ रजत पदकका दोस्रो, सत्यनारायण माविले ५ स्वर्ण, २ कांस्य र ७ रजतसहित तेस्रो भयो ।
भलिबलको स्पर्धामा छात्र र छात्रा दुवैतर्फ कान्तिपुर माविले उपाधि जित्यो । कबड्डीको छात्रतर्फ अर्किड माविले र छात्रातर्फ मिल्स माविले उपाधि जिते ।
विजेता विद्यालयलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेललगायतले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।
प्रतियोगितामा ३३ सामुदायिकसहित ६२ विद्यालयले भाग लिएका थिए । उनीहरुले भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट गरी ४ विधाका ६६ वटा खेलमा १ हजार ४ सय १८ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।



















