
विराटनगर । विराटनगरमा आज (सोमबार)देखि सुरु भएको ‘मिल्स फार्क फुटबल प्रतियोगिता’को दोस्रो संस्करणको उद्घाटन खेलमा मोर्डन ऐरा स्कुल विजयी भएको छ ।
विराटनगर जुट मिलको मैदानमा भएको खेलमा विराटनगरको मोर्डन ऐरा स्कुलले बुढीगंगाको जेभियर्स स्कुललाई टाइब्रेकरमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ ।
खेलको निर्धाति समयमा दुवै टोली गोलरहित खेलेपछि खेलको निर्णय टाइब्रकेरबाट भएको हो । टाइब्रेकरमा मोर्डन ऐराले ५ गोल र जेभियर्सले ४ गोल गरेको थियो । खेलको प्लेयर अफ द म्याच मोर्डन ऐरा मनाश तामाङ भए ।
प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेल पथरीको रेडस्टार स्कुल र विराटनगरको कान्तिपुर कलेज, दोस्रो खेल सुन्दरहरैँचा ब्राइटफ्युचर र विराटनगरको अर्किड स्कुल तथा तेस्रो खेल विराटनगरको आदर्श मावि र विराटनगरकै सगरमाथा माविबीच हुनेछ ।
पुस ६ गतेसम्म हुने प्रतियोगितामा मोरङका १२ निजी तथा सामुदायिक विद्यालयबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रत्येक खेलका म्यान अफ द म्याचले नगद १ हजार पाउने छन् ।
प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले गरेकी थिइन् ।
प्रतियोगिता आयोजना गर्दा करिब ५ लाख रुपैयाँ खर्च हुने क्लबका अध्यक्ष धनकुमार तामाङले जानकारी दिए ।



















