
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ । पहिलो क्वालिफायर आज दिउँसो १ बजे कीर्तिपुरमा सुरु हुनेछ । आजै एलिमिनेटरमा चितवन र कर्णालीबीच पनि प्रतिस्पर्धा हुनेछ ।
जारी प्रतियोगितामा सुदूरपश्चिमले लिग चरणको सातमध्ये एउटा खेलमा मात्रै पराजित भएको छ । जनकपुरले लिगको सात खेलमा पाँच जित र दुई हार व्योहोरेको छ ।
सुदुरपश्चिम र जनकपुरबिचको पहिलो क्वालिफायर खेलको विजेता सोझै फाइनलमा पुग्ने छ।
एलिमिनेटरमा चितवन र कर्णालीबिचको खेलमा पराजित टोली बाहिरिनेछ । विजेता टोलीले भने पहिलो क्वालिफायरमा पराजित टोलीसँग फाइनल पुग्नका लागि फेरि प्रतिस्पर्धा गर्नेछ ।
क्वालिफायरको पराजित टोली र एलिमिनेटरको विजेताबिच फाइनलमा पुग्न बिहीबार प्रतिस्पर्धा हुनेछ। फाइनल खेल शनिबार हुनेछ ।
एनपीएलको विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउनेछ । उपविजेतालाई ५१ लाख, तेस्रो हुने टोलीलाई २५ लाख र चौथोलाई १५ लाख रुपैयाँ दिइनेछ ।



















