रात्रीकालीन व्यवसाय व्यवस्थित र मर्यादित बनाउन महानगर अग्रसर

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस ४, बिहीबार १९:०५

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगरमा सञ्चालित गीतगजल तथा दोहोरीसाँझलाई व्यवस्थित गर्ने विषयमा सम्बन्धित व्यवसायीहरूसित छलफल गरेको छ ।

दोहोरीसाँझ र गीतगजल व्यवसायका कारण ध्वनि प्रदूषण र होहल्ला भएको भन्दै गुनासो आएपछि महानगरले व्यवसायीहरूलाई बोलाएर व्यवस्थित गर्न निर्देशन दिएको छ ।

महानगरका मेयर नागेश कोइरालाले ३ दिनभित्र ध्वनि प्रदूषण कम गर्न निर्देशन दिए । उनले ध्वनि प्रदूषण र होहल्लाले राति सुत्न, विद्यार्थीलाई अध्ययन गर्नसमेत बाधा पुगेको भन्दै महानगरका विभिन्न स्थानबाट भिडियोसहितको गुनासो आएको जानकारी गराए ।

विराटनगरमा सञ्चालित आधाभन्दा बढीले अझै पनि ध्वनि प्रदूषण कम गर्ने विधि नपनाएको पाइएको छ ।

उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेल, राजस्व महाशाखा प्रमुख सरोज गौतमलगायतको उपस्थितिमा भएको भेलाले महानगर प्रहरीका निरीक्षक राजन पौडेलको संयोजकत्वमा गीतगजल र दोहोरीसाँझलाई व्यवस्थित बनाउन समितिसमेत गठन गरेको छ ।

समितिमा होटल तथा पेयपदार्थ संघअन्तर्गतको रात्रीकालीन होटल व्यवसाय समन्वय समितिका अध्यक्ष सुरज श्रेष्ठ, महानगरको राजस्व महाशाखाका वासुदेव भण्डारी, नासाकु गीतगजलकी सञ्चालिका वविता चौधरी र श्रीराम गीतगजलका सञ्चालक नारायण तिम्सिना सदस्य छन् ।

समितिले ध्वनि प्रदूषण र पार्किङको अवस्था, राजस्व तिरे नतिरेको, सरसफाइ कार्ड बनाए नबनाएको लगायतका विषयमा अनगुमन गर्नेछ ।

मेयर कोइरालाकै पहलमा बसेको प्रमुख जिल्ला अधिकारी, मोरङका प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुखलगायत सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

व्यवसायीकै आग्रहअनुसार रात्रीकालीन व्यवसाय सञ्चालन गर्न दिने निर्णय भए व्यवसायीहरूले निर्णय कार्यान्वयन नगरेको मेयर कोइरालाको भनाइ थियो ।

सोही निर्णयपछि राति ९ बजेसम्म सञ्चालन हुँदै आएका होटल व्यवसाय, गीतगजल रेष्टुरेन्ट, दोहोरीसाँझ हाल १२ बजेसम्म सञ्चालन हुँदै आएका छन् । रात्रीकालीन व्यवसाय सञ्चालन गर्दा ध्वनि प्रदूषण, होहल्ला र अमर्यादित गतिविधि हुन नदिनेलगायतमा व्यवसायीहरूले नै सहमति जनाएका थिए ।

मेयर कोइरालाले व्यवसायीहरूले विगतमा गरेको सहमति एक वर्ष बितिसक्दा पनि कार्यान्वयन नहुनु दुःखद् भएको प्रतिक्रिया दिए ।

‘अब पनि सहमति कार्यान्वयन नभए पूर्वतः अवस्थाकै राति ९ बजेसम्म मात्रै सञ्चालन हुनेगरी अर्को निर्णय हुनसक्छ,’ मेयर कोइरालाले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.