
विराटनगर । सुनसरीको धरानमा केन्द्रीय कार्यालय रहेको बराह ग्रुप अफ कम्पनीमार्फत सञ्चालित बराह बचत तथा ऋण सहकारी संस्थाले सर्वसाधारणको ६८ करोड रूपैयाँभन्दा बढी डुबाएको छ ।
यद्यपि, कम्पनीमार्फत खुलेका सहकारी र सुनचाँदी पसलसहितले १४ अर्ब हाराहारी रकम डुबाएको प्रारिम्भक अनुमान छ । धरानका सर्वसाधारणको मात्रै ९ अर्ब डुबेको अनुमान छ । शिव लामिछाने (विश्वकर्मा) आफू र उनको परिवारले दुईवटा सहकारी र विभिन्न कम्पनी सञ्चालन गरेका थिए ।
सहकारी र विभिन्न कम्पनीमा मुलुकभरका सर्वसाधारणको १४ अर्ब हाराहारी रकम डुबेको हो । धरानमा बराह बचत तथा ऋण सहकारी संस्था सञ्चालित थियो । उक्त सहकारीबाट नै ६८ करोडभन्दा बढी अपचलन भएको देखिन्छ । शिव नै अध्यक्ष रहेको काठमाडौंको अभिमत बचत तथा ऋण सहकारी संस्था पनि संकटमा छ ।
बराह ग्रुपमार्फत लामिछाने परिवारले देशभर २८ वटा कम्पनी खोलेको पीडितको दाबी छ । सर्वसाधाणबाट संकलन भएको बचत विभिन्न कम्पनीमार्फत लगानी गरेको पाइएको छ ।
कोशी प्रदेश सहकारी रजिष्टार तथा तथा प्रशिक्षण कार्यालयका प्रमुख हरिबहादुर खत्री बराह बचत तथा ऋण सहकारीमा बचत गरिएको ६८ करोड अपचलन भएको बताउँछन् । तर, बराह ग्रुपले १४ अर्ब रकम अपचलन भएको उनी बताउँछन् ।
धरानमा लाहुरे परिवारलाई लक्षित गरेर खुलेको थियो बराह
धरानका लाहुरे परिवारलाई लक्षित गरेर २०५२ सालमा बराह ज्वेलरी इन्टरप्राइजेज खुलेको थियो । इन्द्र लामिछाने (विश्वकर्मा) त्यसका सञ्चालक थिए । भोजपुरबाट धरान झरेका उनले ज्वेलरीमार्फत आकर्षक ब्याजको लोभ देखाएर बचत संकलन गर्थे ।
लाहुरेको सहर धरानमा मात्र होइन बराह ज्वेलर्सको नाम देशभर चलेको थियो । हङकङ र दुबईमा पनि यसको शाखा खोलिएको थियो । ब्राण्डको रुपमा स्थापित भएपछि बराहले आफ्नो नामको पछाडि ‘विश्वासको प्रतिक’ उपनाम थपेको थियो ।
२०६६ सालबाट सुन पसलमा बचत तथा ऋणको कारोबारमा रोक लगाइयो । त्यसपछि बचतका लागि बराह बचत तथा ऋण सहकारी संस्था स्थापना गरियो । उक्त सहकारीमा गत जेठसम्म सर्वसाधारणको ६८ करोड ८३ लाख १० हजार ८ सय १६ रुपैयाँ बचत छ ।
धरानका १३ हजार ५ सय ७८ जना साधारण बचतकर्ताले ५ हजारदेखि १ करोडसम्म बचत गरेका छन् । गत जेठसम्म शेयर सदस्य संख्या ५ हजार २ सय १३ र १० करोड १८ लाख ६४ हजार शेयर पुँजी थियो ।
सहकारीले ६८ करोड ८३ लाख बचत संकलन गरेको थियो भने ७१ करोड ५८ लाख ६४ हजार ५ सय ३७ रुपैयाँ ऋण लगानी गरेको देखिन्छ । ऋणमध्ये ४१ करोड ३ लाखभन्दा बढी नियमविपरीत रकम आफ्नै कम्पनीमा लगानी गरिएको थियो ।
बराह ग्रुप मातहत रहेको बराह ज्वेलरी प्रा.लिमा २७ करोड २८ लाख ४९ हजार, बराह फेमली किचेनमा ३ करोड ४ लाख २७ हजार, बराह डिपार्टमेन्ट स्टोरमा ८७ लाख ९६ हजार १ सय ८८, बराह–भेडेटार मल्टी प्रपोज प्रा.लिमा ४ करोड ८६ लाख ८९ हजार, बराह कृषि उपज तथा पशुपालन प्रा.लिमा ४ करोड ६८ लाख ३ हजार ३ सय ८२, बराह–भेडेटार मल्टी प्रपोज प्रा.लिमा थप २८ लाख २५ हजार २ सय ३८ रुपैयाँ लगानी भएको देखिन्छ ।
उक्त लगानीको हिसाबकिताब संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्माले प्रतिनिधिसभाको संसदीय छानबिन विशेष समितिमा बयानका क्रममा पनि प्रस्तुत गरेका थिए । जिल्ला प्रहरी कार्यालय सनुसरीले बराह बचत तथा ऋण सहकारी संस्थाको ठगी अनुसन्धान गरिरहेको छ ।
सुनसरी प्रहरीका प्रवक्ता एवं डीएसपी रामप्रसाद तिम्सिनाका अनुसार ३ सय ३३ जना पीडितले बचत फिर्ताको मागसहित निवेदन दिएका छन् । निवेदनका लागि सार्वजनिक हिसाबले आह्वान गरिएका कारण पीडितको संख्या बढ्नसक्ने उनको भनाइ छ ।
सर्वसाधारणको उजुरी लिएर सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि प्रहरीले सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मालाई खोजी रहेको छ । केही दिनअघि घरमा उनलाई नभेटेपछि उनकी पत्नी संगीता विकलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्ने अन्यमा सञ्चालक समितिका सदस्य विष्णु ताम्राकार, सहकारीका लेखापाल अपना श्रेष्ठ, ऋण उपसमिति सदस्य अस्मिता भण्डारी, लेखा सुपरिवेक्षण समिति संयोजक सुदिन लुवागुन, सञ्चालक सदस्यहरू शेरबहादुर महत क्षेत्री, सरीता कालिकोटे, रवि पोर्तेललगायत छन् । प्रहरीले सहकारीको कागजात पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
चर्चापछि व्यापार विस्तार
बराह ज्वेलरी धरानका लाहुरेलाई लक्षित गरेर खोलिएको थियो । त्यसले छोटो समयमै चर्चा कमायो । त्यसपछि थप व्यापार विस्तार गरेको देखिन्छ । २०५२ सालमा स्थापना भएको ज्वेलरीले २०६९ सालसम्म आफ्नो व्यापारिक साम्राज्य विस्तार गरिसकेको थियो ।
कम्पनीले आफ्नो नामको पछाडि ‘विश्वासको प्रतीक’ उपनाम जोड्न सफल भयो । २०६९ साल माघमा हङकङ गएका बेला इन्द्र उतै मृत भेटिए । उनको मृत्युपछि छोरा शिव लामिछाने (विश्वकर्मा)ले बुबाले स्थापना गरेको कम्पनीलाई चलाए ।
परिवारभित्रका सदस्य रहेर धरानमा बराह ज्वेलरी प्रा.लि, बराह फेमली किचेन, बराह डिपार्टमेन्ट स्टोर, बराह–भेडेटार मल्टी प्रपोज प्रा.लि, बराह कृषि उपज तथा पशुपालन प्रा.लि, कृपा दृश्य डिजिटल प्रोडक्सन प्रा.लि खोलेका थिए ।
धरान बाहिर इन्द्र बराह ट्राभल्स एण्ड टुर्स प्रा.लि काठमाडौ, नारायण बराह ज्वेलरी इण्ड्रष्टिज प्रा.लि भरतपुर चितवन, गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि पोखरा, बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि काठमाडौं, बराह प्रपर्टी सर्भिसेस प्रा.लि काठमाडौं, बराह नेशनल इन्भेष्टमेन्ट प्रा.लि काठमाडौंलगायत २८ वटा कम्पनी खुलेको छ । दुबईमा अल बराह मिनी मार्केट एलएलसी, हङकङमा इन्द्र बराह ज्वेलरी पनि खुलेको थियो ।
बराहले सर्वसाधारणबाट संकलन गरेको बचतको ठूलो हिस्सा घरजग्गा प्लटिङमा लगानी गरेको देखिन्छ । गैरकानुनी हिसाबले लगानी गरेकै कारण सर्वसाधारणको बचत फिर्ता गर्न नसकेको बताइन्छ ।
पछिल्लो समय बराह सहकारी २०७८ सालदेखि नै आर्थिक संकटमा परेको थियो । सञ्चालकले बचतकर्ताको रकम फिर्ता गर्ने बाचा गरिरहे । बचतकर्ता आशमा थिए । यो अवधिमा करिब ६ करोड सर्वसाधारणको बचत फिर्ता गरेको देखिएको सहकारी रजिष्टार कार्यालयका प्रमुख खत्रीको भनाइ छ ।
२०८१ भदौ २३ गते बराह ग्रुप अफ कम्पनीका अध्यक्ष शिव लामिछानेले सार्वजनिक अपिल जारी गरेर असहज परिस्थितिले दुर्घटना व्यहोर्न बाध्य भएको र लगानीको शतप्रतिशत सुरक्षाको जिम्मेवारी कम्पनी सञ्चालक तथा सहकारीका सञ्चालक रहने प्रतिबद्धता व्यक्त गरेका थिए । आर्थिक सन्तुलन तत्काल हुने गरी प्याकेज बनाएको अपिलमा उल्लेख थियो ।
असोजबाट विस्तृत योजना सार्वजनिक गर्ने बताएपनि लामिछानले कुनै योजना सार्वजनिक गरेनन् । त्यसपछि रुष्ट बनेका बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले अनुसन्धान गरिरहेको छ ।

























