
विराटनगर । काेशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले सवारी दुर्घटना चुनौती बन्दै गएको बताएका छन् ।
कोशी राजमार्गअन्तर्गत मोरङको बुढीगंगा गाउँपालिका–४ नेमुवामा सवारी चालक तथा सहचालकहरुको स्वास्थ्य परीक्षण तथा लापसे जाँच कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।
उनले सबैभन्दा बढी चालकको लापरबाहीका कारणले हुने गरेकाे बताए । स्वस्थ्य चालकले मात्र सुरक्षित यात्रा सुनिश्चित गर्न सक्छ भन्ने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको डीआईजी अधिकारीले बताए ।
जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र बुढीगंगा गाउँपालिका तथा विराट टिचिङ अस्पतालको सहकार्यमा भएको स्वास्थ्य शिवरमा ५० जना सडक प्रयोगकर्ता ५५ जना चालक तथा सहचालकहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।
११ जना सवारीका चालकहरुले लागुपदार्थ सेवा (लापसे)सेवन गरेको पाइएकोले आवश्यक कारबाहीका लागी नियन्त्रणमा लिइएको मोरङका ट्राफिक प्रमुख राजन लम्सालले जानकारी दिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा भएको सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि सवारी चालक तथा सहचालकहरुको स्वास्थ्य परीक्षण तथा लापसे जाँच कार्यक्रममा मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी विनोद घिमिरेलगायतको उपस्थिति रहेको थियो ।























