
विराटनगर । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति एवं नेकपा (एमाले)का नेता ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध ५ दिन म्याद थप भएको छ ।
जिल्ला अदालत मोरङका न्यायाधीश पारसमणि पोखरेलको इजलासले ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको हो । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार जिल्ला अदालतको अनुमतिसँगै अनिललाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न पाउने छ ।
ठगी मुद्दाको अनुसन्धानका लागि प्रहरीले अदालतबाट म्याद लिएको हो । एमबीबीएसमा भर्ना हुनका लागि नाम निकालिदिने भन्दै लाखौं रूपैयाँ ठगी गरेको आरोपमा मोरङको रंगेली नगरपालिका–२ घर भइ काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल बिहीबार पक्राउ परेका थिए ।
पक्राउ गरेर प्रहरीले उनलाई म्याद थप गर्न अदालत लगेको थियो । ठगी गरेको विषय बाहिरिएपछि ऋषिकेशले अनिललाई जिम्मेवारीबाट हटाएका थिए । अदालतबाट पुर्जी जारी गरेर उनलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
एमबीबीएस भर्ना गर्नका लागि ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप लागेका अनिल नेकपा (एमाले) मोरङका जिल्ला सदस्य हुन् । एमबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवाका ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा रकम लिएको आरोप उनलाई लागेको हो ।
सहकारी ठगी आरोपमा फरार रहेकी ऋषिकेशकी पत्नी अञ्जला कोइराला बुधबार मोरङ अदालतमा हाजिर भएकी थिइन् । अदालतको आदेशपछि उनी बुधबार नै १० लाख धरौटी बुझाएर छुटिन् । बिहीबार बिहान उनका पूर्वस्वकीय सचिव अनिल पक्राउ परेका हुन् । अनिलविरुद्ध ठगी कसुरमा मुद्दा चलाउन अनुसन्धान सुरु गरिएको डीएसपी जोशीले बताए ।

























