
ताप्लेजुङ । ताप्लेजुङ र पाँचथर जिल्लाको सुरक्षा निकायबीचको बैठक सम्पन्न भएको छ । दुवै जिल्लाको सीमा क्षेत्र काबेलीमा भएको सुरक्षा अधिकारीहरूको बैठकले सुरक्षा समन्वय, अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण, विपद् व्यवस्थापनसहितका विषयमा छलफल भएको थिए ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाको नेतृत्वमा अन्तर जिल्ला सुरक्षा समन्वय बैठक भएको हो ।
बैठकमा दुवै जिल्लाका नेपाली सेनाका गण तथा गुल्मका प्रमुख, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी बलका जिल्लास्थित गुल्म प्रमुख र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख अनुसन्धान अधिकृतहरू सहभागिता रहेको थियो ।
बैठकमा अपराध नियन्त्रण गर्ने, पाँचथर र ताप्लेजुङको सडक लाइफलाइनको रुपमा रहेको पुलविहीन हेंवाखोलामा बेलिब्रिज निर्माणलगायतका विषयमा गम्भीर छलफल गरी निष्कर्षमा पुगेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
असोजमा आएको बाढी र पहिरोले हेंवाखोलाको बेलिबिज्र बगाएपछि अहिले अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन भइरहेको छ ।
यहाँ तत्कालै पुल निर्माण नभए वर्षाको समयमा आवागमन ठप्प हुने भएकाले पुल निर्माण गर्न जरुरी भएको बैठकले निश्कर्ष निकालेको बताइएको छ ।























