
विराटनगर । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले मातहतका कार्यालय प्रमुखहरुलाई शनिबार निर्देशन दिएका छन् ।
शान्ति सुरक्षा, वर्तमान समसामयिक विषय तथा कार्यसम्पान सम्झौतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न उनको निर्देशन छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा उपस्थित मातहत कार्यालय प्रमुखहरुलाई नागरिकको अपेक्षा बमोजिम छिटो छरितो, शिष्ट, सभ्य र पीडितमैत्री वातावरणमा सेवा प्रदान गर्नका लागि डीआईजी अधिकारीले निर्देशन दिएका हुन् ।
आआफ्नो इलाकामा आवश्यकता अनुसार प्रहरी परिचालन गरी शान्ति सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण, फरार प्रतिवादी पक्राउ, साइबर अपराध, लागुऔषधको प्रयोग तथा ओसारपसार, ठगी र अन्य अपराधका घटनाहरुलाई नियन्त्रण एवं निरुत्साहित गर्न योजनाबद्ध रुपमा काम गर्न उनले निर्देशन दिए । हिउँदको समयमा लाग्ने विभिन्न मेला पर्वमा प्रहरी जनशक्ति परिचालन गरी सुरक्षा व्यवस्था मजबुत बनाउन, मेलामा प्रहरीको स्टलसमेत राखी सचेतनामूलक पर्चा, पम्प्लेट वितरण गरी आमनागरिकमा सचेतना अभिवृद्धि गर्नुपर्नेमा उनको जोड छ ।
कार्यसम्पादन सम्झौतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न अनुरोध गर्दै अधिकारीले कार्यसम्पादन बमोजिम सर्वोत्कृष्ट कार्य गर्ने कार्यालय प्रमुखलाई पुरस्कृत गरिने बताए । सीमित स्रोत साधनको बाबजुद पनि मेहनतका साथ कोशी प्रदेशमा शान्ति सुरक्षा प्रभावकारी बनाउन महत्वपूर्ण कार्य गर्ने मातहतका कार्यालय प्रमुखहरुप्रति डीआईजी अधिकारीले आभार व्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख एसएसपी जयराज सापकोटा तथा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रमुख एसएसपी अविनारायण काफ्लेलगायतका प्रहरी अधिकारीको उपस्थिति थियो ।


























