
काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको थियो । त्यही मुद्दाको बयानका लागि आइतबार काठमाडौं अदालतमा आफैं उपस्थित भएका उनलाई न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रहरीको जिम्मा लगाउन आदेश गरेको हो ।
आदेश अनुसार प्रहरीले लामिछानेलाई सोमबार पुनः अदालत उपस्थित गराउनुपर्ने छ । अदालतमा आइतबार दिनभर लामिछानेको बयान भएको थियो । बयान सकिए पनि मुद्दाको थुनछेक बहस भने भएन । लामिछानेको बयान सकिएको भनेर बहसका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ अदालत पुगेका थिए ।
तर, आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले बहस गर्न नसक्ने विषय सरकारी वकिलले इजलासमा उठाएपछि न्यायाधीश अधिकारीको इजलासले सोमबार पुनः उपस्थित गराउने गरी उनलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा जिल्ला अदालत कास्कीको आदेशबाट ६५ लाख रूपैयाँ धरौटी बुझाएर छुटेका लामिछाने काठमाडौं अदालतको आदेशबाट न्यायिक हिरासतमा जाने भएका छन् ।
उनलाई भद्रकालीस्थित काठमाडौं प्रहरीको हिरासतमा राखिने भएको छ । सोमबार पुनः अदालत पेस गरिने र बिहान ११ बजेबाट थुनछेक बहस हुने बताइएको छ ।

























