माओवादी मुछिएको शंकास्पद मृत्यु : अनुसन्धानमा पोलिग्राफको सहारा, प्रहरीको भूमिकामा प्रश्न

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ ४, शुक्रबार १२:१५
मृतक तेजबहादुर थेगिम र पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ स्थित उनको घर ।

विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ का २५ वर्षीय तेजबहादुर थेगिमको शंकास्पद मृत्यु प्रकरणको अनुसन्धानलाई लिएर प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ ।

नेकपा (माओवादी केन्द्र) र त्यो पार्टीबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका अमरराज माखिमलगायतका व्यक्ति मुछिएको घटनालाई प्रहरीकै मिलेमतोमा सामसुम पारिएको गुनासो पीडित पक्षको छ । वास्तविकता तोडमोड गरेर घटनामा संलग्नलाई जोगाउने काम प्रहरीबाट भएको गुनासो मृतकका परिवारका सदस्य र आफन्तहरु गर्छन् ।

घटनाको अनुसन्धानमा प्रहरीले पोलिग्राम परीक्षणको सहारा लिएको थियो । जबकि पोलिग्राफ जाँचको प्रमाणलाई कानुनले मान्यता दिँदैन । अर्कोतर्फ पाँचथरमा भएको घटनाको प्रारम्भिक कानुनी प्रक्रिया मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीबाट पूरा गरिनुले घटनाको अनुसन्धानमा प्रहरीको भूमिकामाथि प्रश्न उठेको हो ।

मृतककी दिदी विष्णुमायालाई सुरुमा उर्लाबारी प्रहरीमा जाहेरी दिन लगाइएको थियो । स्थानीय र आफन्त गाउँपालिका अध्यक्षसँग सिकार खेल्न जाँदा भएको घटनालाई अर्कैतर्फ मोडिएको बताउँछन् ।

प्रहरीले भने घटनालाई भवितव्य मृत्यु भएको निष्कर्षसहित अनुसन्धान टुंग्याउने तयारी गरेको छ । पोस्टमार्टम रिपोर्ट, ५ जनाको पोलिग्राफ जाँच र अनुसन्धानपछि प्रहरीले मृत्यु शंकास्पद नभइ भवितव्य भएको निष्कर्ष निकालेको हो ।

घटनामा गाउँपालिका अध्यक्ष माखिम नै जोडिएपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले घटना बुझ्नलाई एसएसपी भीमबहादुर दाहालको नेतृत्वमा टोली खटाएको थियो । दाहालका अनुसार भिरबाट लडेर मृत्यु भएको निष्कर्षमा अनुसन्धान पुगेको छ ।

पोस्टमार्टम रिपोर्टबाट गोली लागेर मृत्यु भएको पुष्टि नहुने उनले बताए । ‘चोटपटकको प्रकृति र गोली लागेको स्थिति फरक हुन्छ । लडेर मृत्यु भएको अनुसन्धानबाट प्रष्ट भयो,’ उनले भने ।

स्थानीय र आफन्त भने पालिका अध्यक्षसँगै सिकार खेल्न गएका बेला गोली लागेर उनको मृत्यु भएको दाबी गर्छन् । तर, प्रहरीले भने त्यस्तो प्रमाण फेला नपरेको जिकिर गरेको छ । लडेर मृत्यु भएको निष्कर्षमा पुग्नुअघि प्रहरीले गाउँपालिका अध्यक्षसँग जंगलमा सिकार खेल्न गएको भनिएकाहरुको पोलिग्राफ जाँच गरेको थियो ।

प्रहरी अनुसन्धानमा प्रश्न उठेपछि घटनामा जोडिएका गाउँपालिका अध्यक्ष अमरराज माखिम, वडा नम्बर ७ का अध्यक्ष हेमचन्द्र रेग्मीसहित ५ जनाको पोलिग्राफ परीक्षण गरिएको हो । थेगिमसँगै जंगल गएका स्थानीय ३५ वर्षीय राजकुमार तामाङको पुस २३ गते पोलिग्राफ जाँच गरिएको एसएसपी दाहाल बताउँछन् ।

उनका अनुसार सामान्य अवस्थामा तामाङले गरेको बयान र पोलिग्राफ जाँचको रिपोर्ट मिलेको छ । तामाङले सुरुमा भिरबाट लडेको बताएका थिए । पोलिग्राफबाट उनले ढाँटेको नदेखिएको दाहालले बताए ।

मिक्लाजुङ गाउँपालिका अध्यक्ष माखिमसहित करिब १० जनाको टोलीसँग सिकार खेल्न गएका बेला चलाएको गोली लागेर थेगिमको मृत्यु भएको स्थानीय र आफन्तको दाबी छ । लाइसेन्सवाला बन्दुक भएका माखिम बेलाबेला सिकार खेल्न गइरहन्थे । ‘पालिका अध्यक्ष, वडा अध्यक्ष र घटनास्थल पुगेकासहित ५ जनाको पोलिग्राफ जाँच गर्दा घटना शंकास्पद देखिएन्,’ पाँचथर प्रहरी प्रमुख, डीएसपी कौशलकुमार बुढाथोकीले भने ।

उनका अनुसार घटनासँग नाम जोडिएकाको फरक–फरक मितिमा पोलिग्राफ जाँच भएको थियो । गत मंसिर २१ गते राति मिक्लाजुङ–७ को जंगलमा घाइते भएका थेगिमको भोलिपल्ट मंसिर २२ गते दिउँसो उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा पोस्टमार्टम भयो । त्यसपछि शवको अन्त्येष्टि गरियो ।

परिवारका सदस्यले भने घटनाका बारेमा २२ गते बिहान मात्रै जानकारी पाएका थिए । ‘हतारहतार पोस्मार्टम र अन्त्येष्टि गर्न दबाब दिए । त्यसले पनि घटना शंकास्पद थियोभन्ने प्रष्ट हुन्छ,’ मृतककी दिदी विष्णुमायाले भनिन् ।

उनका अनुसार अन्तिम संस्कारका बेला नै घटना शंकास्पद भन्दै आवाज उठेको थियो । दाहसंस्कार गर्नुअघि स्थानीयले मृतकको कन्चटमा सानो र गहिरो चोट देखेका थिए । टाउकोमा पनि गहिरो चोट थियो ।

दाहसंंस्कारका बेला खिचिएको भिडियोमा मृतकको आँखाको डिल छेउको कन्चट र टाउकोमा लागेको गहिरो चोट देखिन्छ । त्यसले घटनालाई थप शंकास्पद र रहस्यमय बनाएको हो । पोस्टमार्टमबाट भने गोलीको चोट नदेखिएको र शरीरका अन्य भागमा घाउचोट रहेको तथा करङ पनि भाँचिएको देखिएको प्रहरीको दाबी छ । मृत्युको कारण ‘हेड इन्जुरी’ रहेको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ ।

एसएसपी दाहाल भिरबाट लड्दा शरीरका विभिन्न स्थानमा चोट लागेको बताउँछन् । ‘गनसट हुँदा जुन ‘प्याटन’को चोटपटक हुन्छ । ‘डेडबडी’मा त्यो ‘प्याटन’को चोटपटक नभएको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ,’ उनले भने, ‘मान्छे लडेको देखिन्छ । सिकार खेल्न गएको भन्ने पुष्टि भएन ।’

भाइलाई उपचारका लागि लिएर आएकाहरुले भवितव्य ज्यानको जाहेरी दिएर शव बुझ्न दबाब दिएको मृतककी दिदी विष्णमाया थेगिमेको गुनासो छ । इलाका प्रहरी कार्यालय उर्लाबारीमा दिएको जाहेरीमा २१ गते राति भिरबाट लडेको उल्लेख छ । जाहेरी जबरजस्ती दिन लगाइएको विष्णुमाया बताउँछिन् ।

घटना शंकास्पद भएको र गाउँपालिका अध्यक्षसँगै सिकार खेल्न गएको जानकारी पाएपछि उनले ९ जनाविरुद्ध अनुसन्धानका लागि पाँचथर प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । यो घटनापछि मृतकको परिवार नै गाउँबाट विस्थापित भएर झापाको गौरादह नगरपालिका–९ बैगुनधुरा झरेको छ ।

बैगुनधुरामा विष्णुमायाको घर छ । मृतकका बुवा शरणबहादुर थेगिम र पत्नी सरला तामाङ अहिले विष्णुमायाको घरमा बसिरहेका छन् । घटना भएका बेला मृतककी पत्नी सरला गर्भवती थिइन् । अहिले ८ दिनकी सुत्केरी रहेको विष्णुमाया बताउँछिन् ।

‘भाइको मृत्यु भएपछि विभिन्न दबाबका कारण गाउँमा बस्नसक्ने अवस्था भएन । प्रहरीहरु आइरहने र अरुले पनि थर्काउने एवं धम्क्याउने काम गर्न थाले । असुरक्षित भएपछि गाउँ छाड्नुपर्ने अवस्था आयो । अहिले बुवासहित परिवारका सबै जना झापा झरेर मेरै घरमा बसिरहनु भएको छ,’ उनले भनिन् ।

सिकार खेल्न जाँदा भाइ मारिएको र घटनामा संलग्नलाई बचाउने गरी प्रहरीले भूमिका खेलेको उनले बताइन् । भाइको मृत्युलाई लिएर राजकुमारको विश्वास गर्नु नै आफ्नो ठूलो गल्ती भएको उनको गुनासो छ । सिकार खेल्न गएको भनिएको समूहमा राजकुमार पनि रहेको स्थानीय बताउँछन् ।

‘मेरो भाइ जता जाँदा पनि सधैं राजकुमारसँगै हुन्थ्यो । त्यही भएर विश्वास गरें । तर, घटनालाई तोडमोड गर्ने काम भएको रहेछ । वास्तविकता लुकाएर प्रहरीले अनुसन्धान गर्यो,’ विष्णुमायाको गुनासो छ । उनका अनुसार कसैले लकडी काट्न जाँदा घटना भयो भने । कसैले अरिँगाल काड्न जाँदा भएको हो भन्छन् । कोही सिकार खेल्न जाँदा गोली लागेर मर्यो भन्छन् ।

उर्लाबारी प्रहरीमा लकडी काट्न जाँदा घटना भएको भनेर जाहेरी दिन लगाएको विष्णुमाया बताउँछिन् । पाँचथरमा भने प्रहरीले अरिँगाल काड्न जाँदा भनेर जाहेरी दिन लगाएको उनको भनाइ छ । उनका अनुसार प्रहरीले खाली कागजमा पनि हस्ताक्षर गर्न लगाए । ‘घटनास्थलका रुखमा हेर्दा अरिँगालको गोलो छैन । लकडी काटेको पनि देखिँदैन । सिकार खेल्न जाँदा नै घटना भएको हो । मान्छेपिच्छे फरक कुराहरु आइरहेका छन् । उनीहरुकै कुरा बाझिएको छ,’ विष्णुमायाले भनिन् ।

पोस्टमार्टमअघि भाइको शवसमेत हेर्न नदिएको गुनासो उनको छ । अर्कोतर्फ १ महिनासम्म घटना गुचपुप पार्न खोजिएको थियो । स्थानीयले भने सिकारी समूहले २ वटा घोरल मारेर गाउँलेलाई खान दिएको बताउँछन् ।

मारेका घोरल कम्फुटारमा पुर्याएपछि ‘तपाईंहरु खानु, हामीलाई हतार छ’ भन्दै गाउँलेलाई छाडेर अध्यक्षसहितको टोली हिँडेको स्थानीयको भनाइ छ । तर, प्रहरी भने सिकार खेल्न गएको पुष्टि नहुने बताउँछन् ।

मृतकको पारिवारिक आर्थिक अवस्था कमजोर छ । केही व्यक्तिहरुले ‘सहयोग गर्छौं, घटना बाहिर नलैजानु’ भनेर दबाब दिइरहेको गुनासो पीडित परिवारको छ । मिक्लाजुङ–७ का वडा सदस्य सिंहराज तामाङ घरनजिकैको जंगलमा भएको उक्त घटनाबारे आफूलाई दाहसंस्कार गरिसक्दासम्म थाहा नभएको बताउँछन् ।

‘अन्त्येष्टि सकिएपछि लडेर मरेको भनि लेखिएको मुचुल्कामा सही गरिदिन भन्दै आएका थिए । पढ्दा गोलिया काट्न जॉदा भिरबाट लडेको लेखिएको रहेछ । तर, त्यहाँ गोलिया र अरिँगाल केही छैनन् र थिएनन् । घोरल मार्न जाँदा घटना भएको भन्ने थाहा पाएपछि मुचुल्कामा सही गरिन,’ उनले भने ।

प्रत्यक्षदर्शी शरण माखिम मृत्यु भएको दिन गाउँपालिका अध्यक्षको टोलीसँग तेजबहादुर सिकार खेल्न गएको बताउँछन् । ‘मलाई पनि सिकार खेल्न जाउँ भन्दै आउनु भएको थियो । मैले भ्याइन । उहाँहरु जैसीभिरतिर लाग्नु भएको थियो,’ उनी भन्छन् । स्थानीयका अनुसार अध्यक्ष माखिम सधैंजसो टोली लिएर सिकार खेल्न जान्थे ।

माओवादीकै दबाबमा घटना दबाइएको पीडित पक्षको भनाइ छ । केही प्रसंगले पनि त्यसलाई बल पुग्छ । माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले यो विषयलाई सामाजिक सञ्जाल फेसबुकमै लेखेका छन् ।

‘पाँचथर मिक्लाजुङको दुःखद् घटनाबारे प्रारम्भदेखि नै नेपाल प्रहरीले अनुसन्धान गरिरहेको र अझ अनुसन्धानको क्रम जारी रहेको कुरा हाम्रो जानकारीमा छ । नेपाल प्रहरीको छानबिन तथा अनुसन्धानमा हाम्रो पार्टी र जनप्रतिनिधिहरुको पूर्णरुपमा सहयोग रहने छ । प्रहरी प्रशासनबाट राजनैतिक पूर्वाग्रह र प्रतिशोध नराखी सत्यतथ्य छानबिन र अनुसन्धान हुनेमा हामी पूर्ण विश्वस्त छौं,’ उनले लेखेका छन् ।

गाउँपालिका अध्यक्ष माखिम हतियार भएका कारण आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको दाबी गर्छन् । घटनामा जोडिएपछि प्रहरीले माखिमसँग बयान लिएको थियो । तर, उनको घरमा भएको बन्दुक जाँच गरेन ।

एसएसपी दाहाल गोली लागेको नदेखिएका कारण हतियार जाँच नगरिएको बताउँछन् । गोली लागेको नदेखिएकाले बन्दुक जाँच गर्न आवश्यक नरहेको उनको भनाइ छ ।

यो घटनाको अनुसन्धानपछि प्रहरीले प्रारम्भिक प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय पाँचथरमा बुझाएको छ । जिल्ला सरकारी वकिलको कार्यालय पाँचथरका सहायक जिल्ला न्यायाधिवक्ता वसन्त काफ्ले प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन भइरहेको बताउँछन् । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेकाले प्रतिवेदनका विषयमा बोल्न नमिल्ने उनको भनाइ छ ।

मिक्लाजुङ– ७ का पूर्ववडाध्यक्ष मीनराज माखिम प्रहरीले निष्पक्ष रुपमा घटनाको अनुसन्धान नगरेको बताउँछन् । रातारात परिवारलाई थाहा नदिइ उपचारमा लैजानु, मृतकका बुवा सुतकै घर अगाडिको बाटोबाट लैजाँदा पनि थाहा नदिनु र हतारहतार शव जलाउनुले घटना शंकास्पद देखिएको उनको भनाइ छ ।

शव जलाइसकेपछि प्रहरीले सर्जमिन मुचुल्का तयार गरेको माखिमले बताए । सबैलाई घटनाका बारेमा थाहा भए पनि कोही बोल्न नसकिरहेको उनको भनाइ छ । ‘प्रहरीले पुग्नु पर्ने ठाउँमा पुगेन । गर्नुपर्ने अनुसन्धान गरेन । यो देशमा कानुन छ कि छैन भन्ने थाहा भएन । प्रहरीले अनुसन्धानमा ठूलो लापरबाही गरेको छ,’ माखिमले भने ।

 

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.