
रुपन्देही । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (बुधबार) रूपन्देही अदालतमा उपस्थित हुने भएका छन् ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि उनी अदालतमा उपस्थित हुन लागेका हुन् । सुरुको र पुरक जाहेरीका आधारमा सहकारीको रकम अपचलन गरिएको मुद्दामा उनीसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ ।
अदालतमा उपस्थित हुन लामिछाने मंगलबार नै भैरहवा पुगेका थिए । अदालतमा उपस्थित भएपछि इजलासमा उनको बयान हुने छ । बयानपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस भइ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने अर्थात धरौटी वा साधारण तारेखमा छाड्नेमध्येको एउटा आदेश दिने छ ।
पोखराको सूर्यदर्शन सरकारीको रकम अपचलन गरिएको प्रकरणमा अनुसन्धान जारी रहेका बेला लामिछानेविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि कात्तिक २७ गते बुटवल लगेर सरकारी वकिल कार्यालयमा बयान लिइएको थियो ।
सुप्रिम सहकारीमा रहेका १ हजार ८ सय ३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रूपैयाँ हिनामिना गरेको दाबी सरकार पक्षको छ । गत वैशाख ३ गते पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेविरुद्ध भने पुरक अभियोगका आधारमा मुद्दा चलेको हो ।
लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रा.लिमा सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गएको अनुसन्धानबाट खुलेको छ । २ करोड रुपैयाँ भने लामिछानेको नाममा ऋण गएको भेटिएको प्रहरीको दाबी छ ।
उनी यसअघि कास्की अदालतको आदेश अनुसार ६५ लाख र काठमाडौं अदालतको आदेश अनुसार ६० लाख रूपैयाँ धरौटी बुझाएर छुटेका थिए । बुटवलपछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जानुपर्ने हुन्छ । चितवन र पर्सामा पनि सहकारीको रकम अपचलन प्रकरणमा उनी मुछिएका छन् ।

























