
काठमाडौं । सशस्त्र प्रहरी बलले दुई देशीय सीमा क्षेत्रमा राखिने बोर्डर आउट पोस्ट (बीओपी)को संख्या ४ सय २५ पुर्याउनुपर्ने प्रस्ताव गरेको छ ।
सशस्त्रले बीओपीको संख्या बढाउन माग गर्दै गृह मन्त्रालयमा प्रस्ताव पेस गरेको हो । सीमा सुरक्षालाई थप मजबुद बनाउन ४ सय २५ बीओपी आवश्यक रहेको निष्कर्ष सशस्त्र प्रहरीले निकालेको हो ।
हाल भारततर्फका सीमानाकामा २ सय ४४ र चीनतर्फका सीमानाकामा १० गरेर जम्मा २ सय ५४ वटा मात्रै सशस्त्रका बीओपी छन् । सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बीओपीको संख्या बढाउनुपर्ने मागसहितको प्रस्ताव गृह मन्त्रालयमा पेस गरिएको जानकारी दिए । उनका अनुसार हाल ८ वटा बीओपी स्थापना हुने क्रममा छन् ।
२४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा बुधबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले बीओपीको संख्या थप गर्दै सीमा सुरक्षा मजवुत बनाउनुपर्ने विषयमा सरकार गम्भीर र सकारात्मक रहेको बताएका छन् । सीमा सुरक्षाकै लागि भन्दै सशस्त्र प्रहरीले ४५ वटा स्थानमा प्रस्तावित सीमा सुरक्षा गुल्मको स्थापना गरेको छ ।

























