
विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा विराटेश्वर वृद्धाश्रमका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको छ ।
नोवेल मेडिकल कलेजको प्राविधिक सहयोगमा स्वास्थ्य कार्यालय मोरङले आयोजना गरेको स्वास्थ्य शिविरको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे ।
महानगरको समन्वयमा विराटनगरभित्र सञ्चालित वृद्धाश्रम, मानवसेवा आश्रमलगायतमा निःशुल्क स्वास्थ्य शिविर राखिएको छ ।
बिहीबारदेखि सुरु शिविरको पहिलो दिन विराटेश्वरमा १२ जनाले भीआईएसहित ४७ जनाले विभिन्न सेवा लिएको स्वास्थ्य महाशाखाका तथ्यांक अधिकृत दीपक भट्टराईले जानकारी दिए ।
वडा नम्बर ८ का अध्यक्ष राम पोखरेल, स्वास्थ्य कार्यालय मोरङका प्रमुख मुलुकचन्द राजवंशी, महानगरको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत भूपेन्द्रकुमार साह, विराटेश्वर वृद्धाश्रमका सञ्चालक जगतप्रसाद अर्याज्यलगायतको उपस्थितिमा आयोजित शिविरमा मेयर कोइरालाले आश्रित ज्येष्ठ नागरिकलाई सहज होस् भनेर महानगरको समन्वयमा स्वास्थ्य चेकजाँच गरिएको बताए ।
शिविरमा आँखा, नाक, कान, घाँटी, छालासहितको चेकजाँच गरिएको थियो ।
महानगरका अनुसार माघ १४ गते विराटनगर–३ स्थित मानवसेवा आश्रम, १५ गते ज्येष्ठ नागरिक समिति तथा योग ध्यान केन्द्र विराटनगर–११, १८ गते विराटनगर–१३ स्थित पूर्वाञ्चल बालसेवा आश्रम, माघ २२ गते ज्येष्ठ नागरिक हातेमालो समाज विराटनगर–३ र २३ गते विराटनगर–१० स्थित मानव सेवा आश्रममा शिविर सञ्चालन हुनेछ ।

























