
विराटनगर । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले सुनसरीको रामगञ्ज बेलगछियास्थित शुक्रबारे प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गरेका छन् ।
नेपाल सरकारको २ करोड ४१ लाख २३ हजार ९ सय ६० रूपैयाँको लगातमा निर्माण भएको भवनको बिहीबार उद्घाटन भएको हो । कार्यक्रमका प्रमुख अतिथि डीआईजी अधिकारीले नवनिर्मित प्रहरी भवनबाट सर्वसाधारणका लागि सहज र सर्वसुलभ वातावरणमा सेवा उपलब्ध हुने बताए ।
सुविधा सम्पन्न भौतिक संरचनाले प्रहरीको दैनिकी र कामकारबाहीमा सहजता ल्याउने उनको भनाइ छ । ‘भौतिक पूर्वाधारको अभावमा दैनिक प्रहरी सेवाका कार्यहरुमा प्रत्यक्ष असर परिरहेको थियो । तर, प्रहरीले अहोरात्र नागरिकलाई सेवा दिइरहेको छ,’ अधिकारीले भने, ‘नवनिर्मित भौतिक संरचनाले प्रहरीको मनोबल बढेको छ । कार्यक्षेत्रमा अनुकूल वातावरण सिर्जना गरेको छ ।’
दुर्जनका लागि डर र सज्जनका लागि भर भएर आमनागरिकलाई सेवा दिन अधिकारीले प्रहरीलाई निर्देशन दिए । नवनिर्मित भवनको नियमित सरसफाइ, सौन्दर्यकरण, मर्मत सम्भार र उच्च व्यवस्थापनमा ध्यान दिन उनको निर्देशन छ ।
डीआईजी अधिकारीले भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने दाता तथा निर्माण कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्नेहरुलाई प्रशंसा पत्रले सम्मानसमेत गरेका थिए । उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृतसमेत गरिएको थियो ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी एवं आर्किटेक हरि डंगोलले नवनिर्मित भवनको निर्माणको प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदार, बर्जु गाउँपालिकाका अध्यक्ष जीवछ कुमार राय, उपाध्यक्ष नितुकुमारी चौधरी, गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरीले मन्तव्य राखेका थिए ।


























