
रुपन्देही । जिल्ला अदालत रुपन्देहीमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको मुद्दाको थुनछेक बहस सकिएको छ ।
बुटवलको सुप्रिम सकारीको रकम अपचलनसँग सम्बन्धित मुद्दा दर्ता भएपछि लामिछाने बुधबार आफैं अदालत हाजिर भएका थिए । त्यो दिन अदालतमा उनको बयान भयो । बिहीबारबाट सुरु भएको थुनछेक बहस आइतबार सकिएको हो ।
सुरुमा सरकारी वकिल र जाहेरवाला (सहकारीपीडित)का कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि लामिछाने पक्षका कानुन व्यवसायीले बहस गरे । दुईतर्फी बहस सकिएपछि आजै जवाफी बहस पनि भएको थियो ।
न्यायाधीश प्रह्लालकुमार योगीको इजलासमा थुनछेक बहस भएको हो । मुद्दामा आजै आदेश आउनसक्ने सम्भावना छ । अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने अर्थात धरौटी वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश दिने छ ।

























