आवासीय चिकित्सक आन्दोलित

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १८, शुक्रबार १०:५७

काठमाडौं । आवासीय चिकित्सकले आन्दोलनका कार्यक्रम बढाउँदै लगेका छन् । आन्दोलनअन्तर्गत आज (शुक्रबार) ‘पेन डाउन’सहित विरोध प्रदर्शन गरेका छन् ।

सरकारीसरह पारिश्रमिक माग गर्दै आवासीय चिकित्सक आन्दोलित बनेका हुन् । उनीहरु ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’को नामबाट आन्दोलतमा उत्रिएका छन् ।

Advertisement

आन्दोलनरत आवासीय चिकित्सकहरुले बिहान ९ बजेदेखि १० बजेसम्म ‘पेन डाउन’ गरेका छन् । साथै, आ–आफ्नो संस्थामा एप्रोनसहित प्रदर्शन गरेका छन् ।

काठमाडौं उपत्यकाभित्र भने माइतीघर मण्डलामा समेत भेला भएर प्रदर्शन गर्ने कार्यक्रम छ । माइतीघर मण्डलामा दिउँसो १ बजे प्रदर्शन गर्ने संघर्ष समितिका प्रवक्ता डा. सञ्जय बरालले बताए ।

संघर्ष समितिले इन्टर्न तथा एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच अध्ययनरत चिकित्सकहरुको न्यूनतम पारिश्रमिक सरकारीसरह कायम गर्न माग गरिरहेका छन् । सम्पूर्ण पीजी कार्यक्रमहरु पूर्णरुपमा शुल्करहित र बोण्डरहित बनाउनुपर्ने मागसमेत उनीहरुको छ ।

आफ्ना माग बेवास्ता गरिरहे अत्यावश्यक सेवाबाहेक सबै सेवा बहिष्कार गर्ने चेतावनी उनीहरुले दिएका छन् । चिकित्सकले आन्दोलनका कारण स्वास्थ्य सेवा प्रभावित हुने सम्भावना बढेको छ ।

clockप्रकाशित मिति:  २०८१ माघ १८, शुक्रबार १०:५७
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.