
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारको बयान तीन दिनमा सकिएको छ ।
सहकारीको रकम अपचलन सम्बन्धी मुद्दा दर्ता भए पनि उनी लामो समयदेखि फरार थिए । जिल्ला अदालत मोरङमा सोमबार ‘सुटुक्क’ उपस्थित भएका रौनियारको बयान शुक्रबार सकिएको हो ।
अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार सोमबार,मंगलबार र शुक्रबार बयान भएको थियो । बुधबार र बिहिबार भने सार्वजनिक विदा थियो । ‘तीन दिनमा बयान सकियो,’ उनले भने,‘आइतबार थुनछेक बहस हुनेछ ।’
बयानमा सोधिएका प्रश्नको जवाफ ढिलो दिएका कारण समय लागेको उनले बताए ।
थुनछेक बहस बाँकी रहेका कारण रौनियारलाई पुनः प्रहरीको जिम्मा लगाएर पठाइएको बुढाथोकीले बताए । आइतबारसम्म रौनियारले न्यायीक हिरासतमा बस्नुपर्ने छ ।
उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दामा सहकारीका अध्यक्ष रौनियार, संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालासहित २६ जनालाई प्रतिवादी बनाएर २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित मंसिर २७ गते मुद्दा दायर भएको थियो ।
थुनछेक बहसपछि मंसिर २८ गते जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक तथा धनपालथान गाउँपालिका–४ का पूर्ववडाध्यक्ष रोशन चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
गत पुस २४ गते अदालतमा उपस्थित भएकी सहकारीको पूर्वसञ्चालक अन्जला कोइराला १० लाख धरौटीमा छुटेकी थिइन् । मोरङको रंगेली नगरपालिका–२ का अध्यक्ष सन्तलाल खवास अदालतको आदेशपछि धरौटीबापत ५ लाख रूपैयाँ बुझाएर छुटेका छन् ।

























