विराटनगरमा खाल्डोभित्र बालिकाको शव : बोली बाझिएपछि खुल्यो हत्याको पोल (भिडियोसहित)

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १८, शुक्रबार १९:५४

विराटनगर । १४ वर्षीया चाँदनी यादवको घर भारत बिहारको छपरा जिल्लामा हो । उनी बाबुआमासँगै करिब १ महिनाअघि विराटनगर महानगरपालिका–५ विशालचोकको कलेर्वा टोलस्थित मामाघर आइन् ।

निक्कै दिन बसेका बाबु लालमोहन यादव र आमा राजकुमारी मण्डल यादव छोरी चाँदनीलाई नलिइकन भारतस्थित घर फर्किए । तर, चाँदनी मामाघरमा पनि देखिइनन् । एकाएक बेपत्ता भइन् । बाबुआमा मात्रै फर्किएको देखेका छिमेकीले चाँदनीलाई मामाघरमा नदेखेको निक्कै दिन भइसकेको थियो ।

त्यसअघि पनि बेलाबखत उनी मामाघर आइरहन्थिन् । मामाघर भएको स्थानका छरछिमेकीले चाँदनीलाई राम्ररी चिन्छन् । चाँदनीलाई नलिइकन बाबुआमा मात्रै घर फर्किएको र उनी पनि मामाघरमा नदेखिएपछि स्थानीयले शंका गरे ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार मामाघर आएकी बालिका ८-१० दिनदेखि नदेखिएको र गाउँमा बालिका हराएको हल्ला चलेपछि छिमेकीले शुक्रबार बिहान जानकारी गराए । त्यसलगत्तै डीएसपी जोशी नेतृत्वको टोलीले चाँदनीको मामाघर खानतलासी गर्दै सोधपुछ गर्न थाल्यो ।

मामली घर

मामाली हजुरबुवा सरजुग मण्डललाई प्रहरीले नियन्त्रणमा लियो । उनले नातिनी यसअघि नै भारतस्थित घर गइसकेको बताए । त्यसपछि भारतको छपरामा रहेका बाबुआमासँग प्रहरीले ‘वाट्सएप’मार्फत सम्पर्क गर्यो । बाबु लालमोहन र आमा राजकुमारीले छोरी चाँदनी मामलीमै रहेको बताए ।

‘दुई पक्षको कुरा बाझिएपछि घटना झन् शंकास्पद बन्यो । थप सोधुपछ गर्दै गएपछि बाबुआमाले छोरी आफूहरुसँगै रहेको भनेर कुरा फेर्न थाले,’ डीएसपी जोशी भन्छन्, ‘आमाले त मेरो छोरीका बारेमा तपाईंहरुलाई किन चासो पर्योसमेत भनिन् । निर्धक्कसाथ बोलिरहेका हजुरबुवाले वास्तविक कुरा खुलाउनै चाहेनन् ।’ उनका अनुसार हजुरबुवा सरजुगले केही थाहा नपाएजस्तो व्यवहार देखाए ।

मामली हजुरबुवा र बाबुआमाको कुरा बाझिएपछि त्यतिबेलै प्रहरी चाँदनीको हत्या भइसकेको निष्कर्षमा पुगेको थियो । अनि मामाघर वरपर थप खोजी सुरु गर्यो । घरदेखि १ सय २५ फिट दक्षिणतर्फको आँप र अम्बाको रुख मात्रै भएको जमिनमा केही समयअघि मात्रै खनेजस्तो देखिने आलो माटो भेटियो । वरपर तोरीको गट्टे (दाना झारिसकिएको तोरीको बोट)ले छोपिएको थियो ।

त्यो ठाउँमा उत्खनन गर्दा चाँदनीको शव फेला परेको डीएसपी जोशीले बताए । ‘भर्खरै खनेको खाल्डो देखियो । जुन खाल्डोलाई माटोले पुरेर माथिबाट आलो गोबर थुपारिएको रहेछ । त्यसलाई तोरीको गट्टेले छोपिएको थियो । सबै हटाएर हेर्दा बालिकाको शव फेला पर्यो,’ उनले भने ।

हत्या गरेर खाल्डोमा गाडेको अवस्थामा बालिकाको शव भेटिएको जानकारी जोशीले दिए । उनका अनुसार ४ फिट गहिरो खाल्डोमा घोप्टो पारेर सुताएको कपडासहितको शव फेला परेको हो । ‘मामली हजुरबुवाले कुरा लुकाए’ उनी भन्छन्, ‘तर, सुक्ष्म अनुसन्धान गर्ने क्रममा गाडेको शव पत्ता लगाइयो ।’

सडेर दुर्गन्धित भइसकेको अवस्थामा बालिकाको शव फेला परेको हो । उत्खनन गर्दै प्रहरीले खाल्डोबाट निकालेर पोस्टमार्टमका लागि कोशी अस्पताल लगेको छ । ‘चाँदनीको हत्या कहिले, कसरी र को को मिलेर गरेका हुन् भन्ने यकिन भइसकेको छैन । विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ,’ डीएसपी जोशीले भने ।

प्रहरी स्रोतका अनुसार मामली हजुरबुवा र उनका परिवार तथा बालिकाकै बाबुआमाको मिलेमतोमा हत्या गरेको हुनसक्छ । प्रहरीले सोधीखोजी गर्दा वास्तै नगर्नुले बाबु र आमाको भूमिका शंकास्पद देखिएको प्रहरीको भनाइ छ । यद्यपि, अनुसन्धानपछि यकिन हुने जोशीले बताए ।

‘बालिकाको शव फेला परेपनि बाबुआमा, मामली हजुरबुवासहित परिवारका सदस्यले शंकास्पद व्यवहार देखाइरहेका छन् । कसैको पनि कुरा मिल्दैन । बोली नै एकअर्कामा बाझिन्छ । सुरुमा पनि कुरा नै बाझिएकैले घटना पत्ता लागेको हो,’ जोशी भन्छन् । उनका अनुसार घटनाको प्रकृति हेर्दा हत्या १०-१२ दिनअघि नै भएजस्तो देखिन्छ ।

घटनास्थलमा भेला भएका स्थानीय

घटनापछि चाँदनीका मामली हजुरबुवा अन्दाजी ५७ वर्षीय सरजुग मण्डल, उनकी पत्नी जानकी मण्डल, सरजुगका भाइ पर्ने बतासी मण्डल, रामबाबु मण्डल, छोरी उर्मीला मण्डल, नातिनी अञ्जली मण्डल र नाति बबिदेवल मण्डललगायत ८ जनालाई नियन्त्रणमा लिएर प्रहरीले थप सोधपुछ एवं अनुसन्धान गरिरहेको छ । बतासीबाहेक अरु सबै जना एउटै घरमा बस्थे । उनको घर भने सरजुगको नजिकै छ ।

उर्मीला सरजुगकी जेठी छोरी एवं मृतक चाँदनकी ठूलीआमा हुन् । अञ्जली उर्मीलाकी छोरी तथा बबिदेवल छोरा हुन् । उर्मीलाको पतिको यसअघि नै निधन भएको थियो । त्यसपछि उनी छोराछोरीसहित माइतीमै आएर बस्न थालेको पाइएको प्रहरीले जनाएको छ ।

रामबाबु चाँदनीका मामा एवं सरजुगका छोरा हुन् । मृतक चाँदनीकी आमा राजकुमारी सरजुगकी माइली छोरी हुन् । राजकुमारीका २ छोरा र १ छोरी थिए ।

आफन्तले प्रहरीलाई दिएको जानकारी अनुसार हत्या गरिएकी चाँदनीको भारतमै एक व्यक्तिसँग प्रेम सम्बन्ध थियो । ती व्यक्तिसँग छुटाउन उनलाई बाबुआमाले मामाघर ल्याएको जानकारी प्रहरीले पाएको छ । मामाघर ल्याउनुको उद्देश्य झारफुक पनि थियो । चाँदनीका मामली हजुरबुवा सरजुग गाउँमा धामीझाँक्रीको काम गर्छन् ।

‘चाँदनीलाई प्रेम सम्बन्धमा रहेका व्यक्तिबाट छुटाउन मामाघर ल्याउने र धामी लगाउने योजना रहेछ । योजना अनुसार नै बाबुआमाले मामाघर लिएर आएका रहेछन्,’ प्रहरी स्रोतले भन्यो, ‘बाबुआमा पनि निक्कै दिन बसेर घर फर्किएको पाइयो । तर, मामाघरमै हत्या गरेर गाडेको अवस्थामा चाँदनीको शव भेटियो ।’

मृतक बालिकाका दाजु बबिदेवल मण्डल (ठूलीआमाको छोरा)का अनुसार चाँदनी १ महिनाअघि मामा घर आएकी थिइन् । उनी भने १ साताअघि सालोको बिहेका लागि ससुराली घर गएका थिए । दुई दिनअघि फर्किएर आफूले बहिनीका बारेमा सोधीखोजी गरेको उनी बताउँछन् ।

‘बहिनी कहाँ गयो ? भनेर सोध्दा, उसकै घर गयो भन्ने जवाफ मलाई दिए । घर गएको होला भनेर मैले खासै वास्ता गरिन । आफ्नो काम गर्न थालें,’ बबिदेवल भन्छन्, ‘उहाँ (भारतमा) एउटा केटासँग ‘लभ’ चल्दैथियो । छुटाउनका लागि यता ल्याइएको हो । अहिले हत्या गरेर गाडेको अवस्थामा शव भेटियो ।’ शुक्रबार बिहान प्रहरी पुगेपछि बाहिर रहेका उनी काम छाडेर घर फर्किएका थिए ।

‘प्रहरीले यस्तो अवस्थामा शव भेट्यो । सबै आफन्त नै छन् । को माथि शंका गर्नु ?,’ उनले प्रश्न गरे । बबिदेवल आमा उर्मीला र बहिनी अञ्जलीसँग मामाघरमा बस्दै आएका थिए । तर, घटना अनुसन्धानका क्रममा प्रहरीले उनलाई पनि नियन्त्रणमा लिइसकेको छ ।

बालिकाका बाबुआमा घर फर्किएपनि छोरी नलिइ गएकाले घटना शंकास्पद रहेको छिमेकी रामकुमार यादवले बताए । ‘बाबुआमा घर फर्किए । तर, बच्चालाई लगेनन् । बालिका हराएको हल्ला गाउँमा ४–५ दिनदेखि चलिरहेको थियो । बाहिर कसैले भनेका थिएनन् । यतिसम्मको हर्कत गर्छन् भन्ने लागेकै थिएन,’ उनले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.