
सिन्धुपाल्चोक । प्रेमिका भेट्न गएका १ जना युवकको हत्या भएको छ । गाउँलेले कुटपिट गरेर हत्या गरेको प्रहरीको प्रहरीको प्रारम्भिक अनुमान छ ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ मा प्रेमिका भेट्न गएका अन्दाजी २२ वर्षीय दिनेश विकको हत्या भएको प्रहरीले जनाएको छ । तातोपानी नुहाउन गएका दिनेश प्रेमिका भेट्न पुगेका बेला गाउँलेको सामूहिक कुटाइमा परेको हुनसक्ने सिन्धुपाल्चोक प्रहरीका प्रवक्ता उमाशंकरप्रसाद यादवले बताए ।
‘घटनाको प्रकृति हेर्दा सामूहिक कुटपिट भएजस्तो देखिन्छ । गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भयो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने । यादवका अनुसार गम्भीर घाइते अवस्थामा भेटिएका दिनेशको बाह्रविसे अस्पताल लैजाँदा मृत्यु भएको हो ।
दिनेशको शव बाह्रविसे अस्तालमा छ । प्रेमिका भनिएकी युवतीलाई प्रहरीमा बोलाएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । विक भोटेकोसी–१ कोदारीका बासिन्दा हुन् । उनलाई भोटेकोसी–२ को ‘भ्यू प्वाइन्ट’नजिक गम्भीर घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

























