
विराटनगर । विराटनगरमा हत्या गरिएकी १४ वर्षीया चाँदनी यादवका बाबुआमा पक्राउ परेका छन् । चाँदनी र उनका बाबुआमा भारतीय नागरिक हुन् ।
भारत बिहारको छपरा जिल्ला घर भएका चाँदनीका बुवा अन्दाजी ४० वर्षीय लालमन राय यादव र आमा ३९ वर्षीया राजकुमारी राय यादवलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । विराटनगरमा छोरीको हत्या गरेर भारतस्थित घर गएका उनीहरु उतै थिए । विराटनगर बोलाएर पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार चाँदनीको हत्यामा बाबुआमासहित उनकै मावली परिवारका सदस्यको संलग्नता रहेको पत्ता लागेको छ । प्रहरीले यसअघि चाँदनीका मावली हजुरबुवा ५५ वर्षीय सरयुग मण्डल, हजुरआमा ५३ वर्षीया बतासी मण्डल, मामा ३५ वर्षीय रामबाबु मण्डल र माइजू जानकीदेवी मण्डललाई पक्राउ गरेको थियो ।
प्रहरीले अनुसन्धानका क्रममा मावली परिवारका ८ जनालाई पक्राउ गरेको थियो । घटनामा संलग्नता नदेखिएपछि ४ जनालाई छाडिएको छ । हजुरबुवा, हजुरआमा, मामा र माइजूबाहेक घटनामा मावली परिवारतर्फ अरुको संलग्नता नदेखिएको जानकारी डीएसपी जोशीले दिए ।
उनका अनुसार चाँदनीका बाबु लालमन, आमा राजकुमारी, मावली हजुरबुवा सरयुग मण्डल, हजुरआमा बतासी, मामा रामबाबु र माइजू जानकीदेवीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी छ । आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाइएको जोशीले बताए । पहिलो चरणमा अनुसन्धानका प्रहरीलाई अदालते ५ दिनको म्याद दिएको छ ।
हत्या गरेर विराटनगर महानगरपालिका–५ विशालचोकको कलेर्वा टोलस्थित मामाघर नजिकै खाल्डोमा गाडेको अवस्थामा गत शुक्रबार चाँदनीको शव फेला परेको थियो । ‘बाबुआमादेखि मावली परिवारसम्मको मिलेमतोमा बालिकाको हत्या गरेको पाइयो । कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि थप प्रक्रिया अघि बढेको छ,’ डीएसपी जोशीले भने ।
प्रहरीका अनुसार चाँदनीको हत्या माघ ११ गतेतिर भएको हुनसक्छ । शवको पोस्टमार्टम विराटनगरकै कोशी अस्पतालमा गरिएको छ । पोस्टमार्टम गरिसकेको शव भने अस्पतालमै छ । प्रहरीले उत्खनन गरेर खाल्डोबाट शव निकालेको थियो ।
प्रहरीले प्राप्त गरेको जानकारी अनुसार भारतमै १ व्यक्तिसँग चाँदनीको प्रेम सम्बन्ध थियो । प्रेम सम्बन्ध छुटाउनका लागि भनेर बाबुआमाले नै करिब १ महिनाअघि उनलाई विराटनगरस्थित मामाघरमा लिएर आएका थिए ।
प्रहरीका चाँदनीले ती व्यक्तिलाई छाड्न नसक्ने अडान लिइन् । ‘मामाघरबाट भाग्नसमेत खोजेको पाइयो । भाग्न खोजेपछि रिसको झोंकमा हत्या गरी शवलाई खाल्डो खनेर गाडेको खुलेको छ,’ प्रहरी स्रोतले भन्यो ।
चाँदनीलाई मामाघरमा लिएर आएका बाबुआमा उनलाई नलिइकन भारत घरतिर फर्किएका थिए । त्यसपछि मामाघरमा पनि नदेखिएकी चाँदनी एकाएक बेपत्ता भएको हल्ला गाउँमा गाइँगुइँ चल्न थाल्यो । त्यो सूचना प्रहरीसम्म पुग्यो । प्रहरीले खोजतलास गर्दा हत्या गरेर गाडेको अवस्थामा शव फेला पारेको हो ।
प्रहरीका अनुसार मामाघरदेखि १ सय २५ फिट दक्षिणमा खनिएको ४ फिट गहिरो खाल्डोबाट सडेर दुर्गन्धित भएको अवस्थामा शरीरका कपडासहितको शव निकालिएको थियो । डीएसपी जोशीले हत्याको कारण प्रेम सम्बन्ध नै रहेको बताए । उनका अनुसार हत्या गरेर शव व्यवस्थापन गरेपछि बाबुआमा भारतस्थित घर फर्किएका थिए ।
उनका अनुसार अनुसन्धानबाट र पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा थप प्रष्ट हुन्छ । बालिका बेपत्ता भएको जानकारी आउनसाथ प्रहरी पुग्दा हजुरबुवा सरयुग मण्डलले नातिनी आफ्नै घरतिर गइसकेको बताएका थिए । प्रहरीले बाबुआमासँग सम्पर्क गर्दा छोरी मामाघरमै रहेको बताए ।
बारम्बार कुरा फेर्न थालेपछि प्रहरीले मामाघर वरपर खोजतलास तीव्र पारेको थियो । प्रहरीले घटनाको थप प्रमाण जुटाउने काम भइरहेको जनाएको छ । लालमन र राजकुमारीका २ छोरा तथा १ छोरी रहेको प्रहरीले जनाएको छ ।

























