उर्लाबारीमा चोरले रित्त्याइदिए पसल, ३ करोडभन्दा बढीको मोबाइल चोरी

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २१, सोमबार १७:०९

विराटनगर । मोरङको उर्लाबारीमा मोबाइल चोरी गरेर पसल नै रित्त्याइदिएको पाइएको छ । एउटा पसलबाट ३ करोड रूपैयाँभन्दा बढीको मोबाइल चोरी भएको हो ।

सटर फोडेर चोरले मोबाइल लगी पसल रित्त्याइदिएको प्रहरीले जनाएको छ । ‘चोरले सबै मोबाइल लगेर पसल नै रित्त्याइदिएको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘पसलमा महँगो मूल्य पर्ने मोबाइलहरु रहेछन् ।’

Advertisement

उर्लाबारी नगरपालिका–५ मा योगराज कार्कीले सञ्चालन गरेको मोबाइल वल्र्ड नामक पसलमा चोरी भएको हो । पसल खोल्न जाँदा सटर फुटाएर चोरी गरेको देखेपछि कार्कीले प्रहरीलाई सोमबार बिहान ९ बजेतिर घटनाको जानकारी गराएका थिए ।

मोबाइल पसल पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले मोबाइल पसलमा सोमबार बिहानका राति चोरी भएको जानकारी दिए ।

तर, चोरीमा संलग्नको पहिचान हुन नसकेको उनको भनाइ छ । ‘चोरीको प्रकृति हेर्दा ठूलै गिरोह संलग्न रहेको अनुमान छ । पसलमा महँगा मोबाइलहरु रहेछन् । सबै मोबाइल चोरी भएका छन्,’ जोशीले भने, ‘सटरको ताला फुटाएर चोरी गरिएको छ । चोरीमा संलग्नको पहिचान भइसकेको छैन । विभिन्न कोणबाट अनुसन्धान अघि बढाएर घटनामा संलग्नको खोजी तीव्र पारिएको छ ।’

पसल सञ्चालकले ३ करोड मूल्य बढीको मोबाइलहरु पसलबाट चोरी भएको जानकारी प्रहरीलाई दिएका छन् । उर्लाबारी–७ घर भएका कार्कीले मुलुकी खबरलाई दिएको जानकारी अनुसार आईफोन, रेडमी, ओपोलगायत विभिन्न ब्राण्डका ४ सय ५० भन्दा बढी मोबाइलहरु पसलमा राखिएको थियो ।

पसलमा रहेका मोबाइलको संख्या यकिन नभएको उनको भनाइ छ । ‘पसलमा कतिवटा मोबाइल थिए भनेर काम गर्नेहरुलाई थाहा छ । मलाई त्यो थाहा हुन सकेन । तर, ४ सय ५० वटाभन्दा धेरै नै थिए । ३ करोडभन्दा बढी मूल्य बराबरको चोरी भएको छ । पसलमा राखिएको नगद पनि चोरी भयो,’ कार्कीले भने ।

यद्यपि, चोरी भएका मोबाइलको संख्या र मूल्य प्रहरीले यकिन गर्न सकिरहेको छैन । डीएसपी जोशीका अनुसार एउटै मोबाइल २ लाख मूल्यसम्मका रहेको पाइएको छ । ‘जम्मा ३ करोड मूल्य माथिका ४ सय ५० वटाभन्दा बढी मोबाइल थिए भनेर पसल सञ्चालकले प्रहरीलाई जानकारी दिनु भएको छ,’ उनी भन्छन्, ‘प्रहरीबाट संख्या र मूल्य यकिन गर्ने काम भइरहेको छ ।’

मोबाइलको संख्या र मूल्य यकिन नभए पनि ठूलो मूल्य बराबरको चोरी भएको पाइएको डीएसपी जोशीले बताए । उनका अनुसार पसलमा सीसी क्यामेरा पनि थियो । तर, क्यामेराको फुटेजबाट चोरीमा संलग्नको पहिचान गर्न प्रहरीलाई गाह्रो परिरहेको छ ।

चोरीमा संलग्नको खोजी एवं पहिचानका लागि इलाका प्रहरी कार्यालय पथरीबाट डीएसपी मोहनविक्रम दाहाल र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट सइ चूडामणि पौडेलको नेतृत्वमा संयुक्त टोली परिचालित छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.